काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ, डिजल र मट्टितेलमा चार रुपैयाँ मूल्य बढाएको हो ।
यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको छ भने आन्तरिक तर्फ प्रतिलिटर सात रुपैयाँ मूल्य बढाइएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर एक सय ६५ रुपैयाँ पुगेको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर एक सय ४९ रुपैयाँ कायम भएको छ ।
यसैगरी सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर एक सय ६४ रुपैयाँ, डिजल र मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ तोकिएको छ ।
यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रका लागि पेट्रोल प्रतिलिटर एक सय ६२ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेल प्रतिलिटर एक सय ४६ रुपैयाँ ५० पैसा तोकिएकोे छ । इन्डियन आयल निगमले सोमबार पठाएको नयाँ मूल्यसूचीअनुसार निगमको सञ्चालक समितिले मूल्यवृद्धि गरेको हो ।