काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई विशेष अदालतले आठ वर्ष तीन महिना कैद सजायको फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई घुस लिएबापत आठ वर्ष र मेयरजस्तो ओहोदामा बसेका कारणले थप तीन महिनाको कैद सजाय सुनाएको हो । गत असार ६ गते शुक्रबार विशेष अदालतले उनलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले बस्नेतलाई नौ करोड २२ लाख रुपैयाँको घुस लिएको र सम्पत्ति शुद्धीकरण दुवै मुद्दामा दोषी ठहर गरेको हो । दोषी ठहर भएका बस्नेतलाई सोमबार सजाय सुनाइएको थियो ।
विशेष अदालतले मेयर बस्नेतलाई घुस दिने पद्मा कोलोनी प्रालिका सञ्चालक राजु कँडेललाई पनि आठ वर्षको कैद सजाय सुनाएको छ । पद्मा कोलोनी प्रालि एवं पद्मा मर्चेन्ट कम्पनीलाई लाभ हुनेगरी निर्णय गरेबापत प्रमुख बस्नेतलाई कोलोनी प्रालिका सञ्चालक राजु कँडेलले घुस दिएका थिए । विशेष अदालतले ती दुई कम्पनी, मेयर बस्नेत र कँडेललाई दुई करोड ३० लाख ६१ हजार पाँच सय आठ रुपैयाँ आठ पैसा जरिवाना हुने पनि फैसला गरेको छ ।
यसैगरी विशेष अदालतले बस्नेतलाई १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेकोमा दोषी ठहर गरेको छ । सम्पत्ति शुद्धीकरणमा उनलाई तीन वर्ष कैद सजाय तोकिएको छ । त्यो कैद भने आठ वर्षको कैदमा गाभिनेछ । विशेष अदालतले उनलाई सम्पत्ति शुद्धीकरणमा २६ करोड २५ लाख रुपैयाँ जरिवाना पनि तोकेको छ । यस्तै, मेयर बस्नेतलाई थप दुई करोड ६२ लाख ५४ हजार छ सय रुपैयाँ जरिवाना पनि थपिएको छ ।
साथै, अपराध पीडित संरक्षण ऐनबमोजिम मेयर बस्नेतबाट एक करोड पाँच लाख एक हजार ४२ रुपैयाँ र कँडेलबाट नौ लाख २२ हजार चार सय ६० रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला पनि अदालतले गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेयर बस्नेतविरूद्ध गत पुस १५ गते विशेष अदालतमा सम्पत्ति शुद्धीकरण र घुस लेनदेन मुद्दा दायर गरेको थियो ।
पद्मा कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्ने प्रयोजनका लागि मेयर बस्नेतलाई घुस दिएका थिए । उनले मेयर बस्नेतलाई नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस दिएको अख्तियारले दाबी गरेको थियो । यस्तै, अख्तियारले सम्पत्ति शुद्धीकरणमा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरेको थियो । यी दुवै मुद्दामा बस्नेत दोषी देखिएका हुन् । अख्तियारले मेयरकी श्रीमती उर्मिलालाई पनि प्रतिवादी बनाएको थियो । तर विशेष अदालतले उर्मिलालाई भने सफाइ दिएको छ । पद्मा कोलनीका सञ्चालक राजुप्रसाद कँडेललाई पनि सम्पत्ति शुद्धीकरणमा भने अदालतले सफाइ दिएको छ ।