काठमाडौं । नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौँ वर्षमा प्रवेश गरेको छ । चौथो वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि २१ गतेसम्म बैंकले ‘नबिल ग्रीन विक’ मनाउन लागिएको बैंकले जनाएको छ । नबिल ग्रीन विकमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषयमा केन्द्रित कार्यक्रम आयोजना गरिनेछन् ।
साताव्यापी सञ्चालन हुने नबिल ग्रीन विकअन्तर्गत आयोजना हुने वेबिनार शृंखलामा नबिल बैंकका विज्ञसहित जीआईजेड नेपाल, सिम्पल इनर्जी प्रालि, बीवाईडी, सीजी मोटर्सलगायतका प्रतिनिधिका साथै वातावरण, समाज तथा सुशासनसँग सम्बन्धित विज्ञ तथा कृषि क्षेत्रका जानकारहरू सहभागी हुनेछन् । उक्त कार्यक्रमले सोलार रुफटप सोलुसन, विद्युतीय सवारीसाधन र दिगो कृषिका साथै वातावरण, समाज र शासनमा लगानीका विषयमा छलफल तथा ज्ञान आदानप्रदानमार्फत एक–अर्कालाई जोड्ने उद्देश्य लिएको छ ।
नबिल बैंकले नेपालको दिगो विकास लक्ष्य (एसडीजी)लाई आत्मसात् गर्दै आफ्नो कारोबारमा वातावरण, समाज र सुशासनसँग सम्बन्धित सिद्धान्त अङ्गीकार गर्दै आएको छ । बैंकको रणनीतिमा दिगोपन एक मुख्य आधार बनेको बैंकको भनाइ छ ।
नबिल बैंकले आफूलाई बैंकिङमा मात्रै सीमित नराखी वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण तथा नैतिक सुशासनको अभ्यासमा पनि आफूलाई केन्द्रित गर्दै आएको छ । जसमा कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी लगानीलाई प्रवद्र्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ । बैंकले आर्थिक वृद्धिसँगै दीर्घकालीन सामाजिक र वातावरणीय मूल्य सिर्जनामा काम गर्दै आएको जनाएको छ ।
दिगो बैंकिङका उपलब्धि
नबिल बैंकले दिगो बैंकिङमार्फत विभिन्न उपलब्धि हासिल गरेको छ । हालसम्म ‘पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सिङ’को मापदण्डअनुसार ग्रीनहाउस ग्यास उत्सर्जनका क्षेत्रमा नवीकरणीय ऊर्जा लगानीमार्फत ११ हजार एक सय ७२ टन उत्सर्जन न्यूनीकरणमा सहयोग पुर्याएको छ । साथै २१ जिल्लाका ३७ वटा नदीमा सञ्चालनमा रहेका तीन हजार ७० मेगावाट क्षमताका ४३ वटा जलविद्युत् परियोजनामा बैंकले लगानी गरेको छ ।
त्यसैगरी साना तथा मझौला व्यवसायअन्तर्गत विशेषगरी कृषि, विद्युतीय सवारी तथा महिला नेतृत्वमा आधारित उद्यममा लगानी गरी ४६ हजारभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष लाभ पुर्याएको छ । गत आर्थिक वर्षसम्ममा बैंकले कृषि क्षेत्रमा मात्रै ४५ दशमलव ३८ अर्ब रुपैयाँ, जलविद्युत् तथा ऊर्जामा ३१ अर्ब रुपैयाँ र सूक्ष्म, घरेलु तथा साना उद्योगमा २५ दशमलव ०१ अर्ब रुपैयाँ लगानी गरिसकेको छ ।
बैंकका अनुसार विद्युतीय सवारी कर्जामा मात्रै ४२ दशमलव ३६ प्रतिशत लगानी गरेको छ भने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच करोड ४३ लाख लगानी गरेको छ । हाल बैंकका १३ वटा शाखा तथा भवनमा नवीकरण ऊर्जा प्रणाली जडान गरिएको छ भने डिजिटल बैंकिङ प्रवद्र्धनमा सक्रियता देखाउँदै हाल एनबैंकका प्रयोगकर्ता १६ लाख आठ हजार आठ सय २६ पुगेको बैंकको भनाइ छ । बैंकले हालसम्म सात हजार पाँच सय ९० जनालाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरिसकेको छ ।
वुमन इन मोसन, यु म्याटर युअर भ्वाइस म्याटर, नबिल ग्रीन विक, घर त नेपाल र दिगो पाइलाजस्ता अभियानमार्फत बैंकले विभिन्न सरोकारवाला समूहलाई लक्षित काम गर्दै आएको छ । साथै सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसइई) कार्यक्रमबाट हालसम्म नौ सय एक जना प्रशिक्षार्थीले तालिम प्राप्त गरिसकिएका छन् । यसैगरी एक सय ३३ जनाले उद्यम स्थापना गरी एक हजार दुई सय जनालाई रोजगारी दिइसकेको बैंकको भनाइ छ ।
दिगो बैंकिङअन्तर्गत सन् २०२१ मा बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङको सदस्य भएको थियो । बैंकका अनुसार दिगो बैंकिङको प्रमुख उपलब्धिको शाखारहित बैंकिङ विस्तार रहेको छ । त्यस्तै बैंकले वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई लक्षित गरी नबिल स्किल्ड माइग्रेन्ट इन्टरप्रेनरसिप कर्जा, नबिल दिगो बचत खाता, नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जाजस्ता नवीन, सामाजिक र वातावरणमैत्री उत्पादनहरू ल्याएको छ । बैंकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता सुधार, पानी संरक्षण र प्रशोधन, फोहोर व्यवस्थापन तथा फोहोरबाट ऊर्जा उत्पादनलगायतका परियोजनामा लगानी गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा वर्षाको पानी संकलन प्रणाली स्थापना गरी वार्षिक दुई लाख ६२ हजार आठ सय चार लिटर पानी संकलन गर्दै आएको छ ।
नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको थियो ।