काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो नयाँ परिमार्जित वेबसाइट सार्वजनिक गरेको छ । हालै सार्वजनिक गरिएको यो वेबसाइट ग्राहकमैत्री र जानकारीमूलक रहेको बैंकले जानकारी दिएको छ ।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै फाइनान्सले थप सेवा दिने उद्देश्यले यो वेबसाइटलाई प्रयोगकर्तामैत्री बनाइएको कुरा प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिनाले जानकारी दिएका छन् । यो वेबसाइटबाट प्रयोगकर्ताले संस्थाको बारेमा जानकारी, संस्थाको प्रडक्ट तथा सेवाहरूको जानकारी, पब्लिक डिस्क्लोजरअन्तर्गतको सम्पूर्ण जानकारी तथा वेबसाइटबाट नै अनलाइन खाता खोल्ने सुविधा, अनलाइन मुद्दती निक्षेपको सुबिधा तथा वेब बैंकिङमार्फत आफ्नो खाताबाट कारोबार गर्ने सुविधा सजिलै उपयोग गर्न सक्नेछन् ।
परिमार्जित वेबसाइटले ग्राहक सेवालाई अझै बलियो र सुदृढ बनाउन तथा संस्थाको पब्लिक डिस्क्लोजरमा अझै पारदर्शिता ल्याउन मद्दत पुग्ने विश्वास संस्थाले गरेको छ । अत्याधुनिक प्रविधिलाई आत्मसात् गर्दै आएको फाइनान्सले आफ्ना ग्राहकको लागि सधैँ नवीनतम सेवा ल्याइरहेको छ ।
मन्जुश्रीले हालसम्म २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब १८ अर्ब कर्जा परिचालन गरेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।