काठमाडौ । धेरै क्षेत्रमा प्रविधिको विकास भएको देखिए पनि बसपार्कमा गएर घन्टौँ लाइन बसेर टिकट काट्नुपर्ने बाध्यता अझै हटेको छैन । हवाई टिकटमा डिजिटाइजेसन भइसक्यो, धेरै सरकारी कामहरू घरबाटै मोबाइल वा कम्प्युटरको सहायताले गर्न सकिन्छ । बैंकमा खाता खोल्न समेत बैंक धाउनुपर्ने बाध्यता छैन । तर, सार्वजनिक बसमा यात्रा गर्नुपूर्व भने तातो घाम, झरी वा कठ्याङ्ग्रिँदो चिसोमा लाइन बसेर टिकट काट्नुपर्ने बाध्यता कायमै छ ।
यो बाध्यता अन्त्य गर्न सरकारले २०७७ सालमै सार्वजनिक सवारीसाधनलाई व्यवस्थित गर्ने भन्दै अनलाइन टिकेटिङ सिस्टमको शुभारम्भ गरेको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटीएमएस) लागू भएको घोषणा गरेका थिए । उनले यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अपाङ्गता भएका व्यक्ति अनुकूल बनाउने नीतिअनुसार यातायात सेवाको नियमनका लागि ओटीएमएस लागू गरिएको बताएका थिए । तर, सो सेवा सुरु गरेको चार वर्ष बितिसक्दा पनि ओटीएमएस लागू हुन सकेको छैन ।
तर २०६९ सालबाट औपचारिकरूपमा सञ्चालनमा आएको निजी कम्पनी बस सेवाले भने यातायात क्षेत्रलाई डिजिटाइज्ड गर्न नेतृत्वदायी भूमिका खेलिरहेको छ । राज्यले ४–५ वर्षअघिदेखि नै कार्यान्वयनमा ल्याउने भने पनि कार्यान्वयन गर्न नसकेको अनलाइन टिकेटिङ सिस्टम बस सेवाले भने नियमितरूपमा सञ्चालन गरिरहेको हो । बस सेवाले एक क्लिकमै मोबाइलमा टिकट उपलब्ध गराउँदै आएको छ । देशका जुनसुकै स्थानबाट कुनै पनि गन्तव्यसम्म छुट्ने गाडीको टिकट काट्न सकिने हुँदा यसको प्रयोगबाट यात्रुहरू लाभान्वित भइरहेको बस सेवाले जनाएको छ ।
टिकट खरिदबिक्री प्रक्रियामा बिचौलियालाई प्रवेश नदिन र यात्रुलाई सहजता प्रदान गर्न अनलाइन टिकेटिङ प्रणाली लागू गरिएको बस सेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बताए । कोरोना महामारीपछि बस सेवाको अनलाइन प्लेटफर्मबाट टिकट लिनेहरूको संख्या बढ्दै गएको छ । बस सेवाले भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुरलगायत सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ ।
कसरी काट्ने बस सेवाबाट टिकट ?
मोबाइल एप ‘बस सेवा’मार्फत टिकट काट्न एन्ड्रोइड मोबाइलमा गुगल प्ले र आइफोन प्रयोगकर्ताले एपस्टोरमा गई बस सेवाको एप डाउनलोड गर्नुपर्ने हुन्छ । डाउनलोड भएको एप खोलेर प्रयोगकर्ताको नाम र पासवर्डमार्फत लगइन गर्नुपर्ने हुन्छ । पहिले बस सेवाको खाता नभएकाले नयाँ खाता खोली लगइन गर्नुपर्ने हुन्छ ।
त्यसपछि, यात्रुले आफ्नो गन्तव्य, यात्रा मिति र समय छनोट गरी आफूलाई मनपरेको बस र सिटको टिकट बुकिङ गर्न सक्छन् । एप्लिकेसनले यात्रुलाई आफ्नो यात्राको विवरण, टिकट मूल्य र अन्य जानकारी समेत देखाउँछ । एकपटक टिकट चयन गरेपछि यात्रुले डिजिटल भुक्तानी गरेर टिकट काट्न सक्छन् । मोबाइलबाट प्राप्त भएको टिकट नै बसमा देखाएर यात्रा गर्न सकिन्छ । टिकट काटेको सुनिश्चित भएको एसएमएस पनि देखाउन सकिन्छ । यसैगरी बस सेवाको आधिकारिक वेबसाइटमा क्लिक गरेर पनि बस सेवाबाट टिकट काट्न सकिन्छ ।