काठमाडौ । कार्यक्रम व्यवस्थापन संघको तेस्रो महाधिवेशनबाट राजेन्द्र लुईंटेल (राज) केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् । देशभरका कार्यक्रम आयोजक एवं इभेन्ट व्यवस्थापकहरूको छाता संगठन कार्यक्रम व्यवस्थापन संघको आगामी दुई वर्षे कार्यकालका लागि लुईंटेलको नेतृत्वमा १३ नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
राजधानीको लाजिम्पाट बुटिक होटलमा सम्पन्न उक्त अधिवेशनबाट उपाध्यक्षमा तृष्णा गुरुङ्ग, उपाध्यक्षमा समिर लामा, महासचिवमा सोनितराज ढुङ्गेल, सचिवमा विपिन पोखेरल, कोषाध्यक्षमा मनोज थापा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सहसचिवमा भागिरथ कुमार पोखरेल, सहकोषाध्यक्षमा सपना राई तथा कार्यसमिति सदस्यहरूमा सुभाष श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहुल बन्जाडे, पूजा रेग्मी र लोमस कार्की निर्वाचित भएका थिए । निर्वाचनका लागि संघका सल्लाहकार एवं वरिष्ठ गायक सीताराम कोइराला, वरिष्ठ पत्रकार बीएम आचार्य तथा अधिवक्ता केशव पोखरेल निर्वाचन अधिकृत रहेका थिए ।
अधिवेशन तथा चुनावी सभालाई पर्यवेक्षकका रूपमा विभिन्न संघसंस्थाका अध्यक्ष तथा पदाधिकारी रहेका थिए । देशभरका एक सय २० भन्दा बढी इभेन्ट आयोजक तथा कम्पनीहरूको सहभागिता रहेको सोही महाधिवेशनबाट तीन जनालाई सल्लाहकार चयन गरिएको थियो । वरिष्ठ चिकित्सक एवं गीतकार डा भोला रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा टिचिङ अस्पतालका प्राध्यापक एवं लायन्स क्लबका पूर्वगर्भनर डा सुशीला मल्ललाई सल्लाहकारको प्रमाण–पत्र प्रदान गरिएको थियो । समारोहमा संघका निवर्तमान अध्यक्ष लवबहादुर कार्कीलाई संरक्षकको रूपमा सम्मान गरिएको थियो ।