काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘कुलिङ अफ पिरियड’ प्रावधानमा अनधिकृत हेरफेर भएको भन्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई छानबिनको माग गरेका छन्।
आइतबार बहुमतले पारित संघीय निजामती सेवा विधेयकमा समितिबाट सर्वसम्मत पारित भएको स्वरूप उल्ट्याएर प्रस्तुत गरिएको भन्दै गुप्ताले कडा आपत्ति जनाएका हुन्। ‘यो त संसदकै अपमान हो,’ गुप्ताले भने, ‘छानबिन गरेर दोषीमाथि कारबाही होस्।’
उनले मन्त्रालयमै बसेर विधेयकको अन्तिम रूप तयारी गरे पनि समितिका सभापति रामहरि खतिवडाले आफूहरूलाई नबताई प्रतिवेदन संसदमा पेस गरेको बताएका छन्।निजामती सेवाका केही उच्च अधिकारीहरूको दबाबमा बहुचर्चित ‘कुलिङ अफ पिरियड’ हटाइएको आशंका गुप्ताले गरेका छन्। उनले यसलाई गम्भीर षड्यन्त्र भन्दै “आफूलाई झुक्क्याएर विधेयक पेस गरिएको” दाबी गरेका छन्।