काठमाडौं । सर्वाेच्च अदालतले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिसम्बन्धी विवादको अन्तिम फैसला आज गर्ने तयारी गरेको छ । गत जेठ २८ गतेका लागि तोकिएको अन्तिम फैसलाको मिति अन्तिम समयमा गएर असार १८ गतेका लागि स्थगित भएको थियो ।
संवैधानिक परिषद्को सिफारिसमा २०७७ माघ २१ मा ३२ जना र २०७८ असार १० गते २० जना पदाधिकारी राष्ट्रपतिबाट नियुक्त भएका थिए । सो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोक सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायतका संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरिएको थियो । सो निकायमा पदाधिकारीहरूको संसदीय सुनुवाई नगरी कार्यभार सम्हालेको भन्दै सर्वाेच्चमा मुद्दा परेको थियो ।
सर्वोच्चको संवैधानिक इजलासले मुद्दा परेको साढे चार वर्षपछि नियुक्तिसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ सकिसकेको छ । तर फैसला सुनाउने मिति भने सरेर असार १८ गतेसम्म पुगेको थियो । नियुक्त भएकामध्ये केही पदाधिकारीले अवकाश समेत पाइसकेका छन् ।