काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गरेकी छन् । राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४औँ महासभाअन्तर्गत मंगलबार आयोजित कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ट उत्पादनहरूमार्फत् विश्व बजारबाट लाभ लिन आग्रह गरिन् । ‘कृषिमा निजी क्षेत्रको संलग्नता बढाउने सरकारको नीतिबमोजिम ठूला निजी कम्पनीहरूले कृषिमा लगानी गर्न थालेका पनि छन् । तर पनि ठूलो लगानी तथा कृषिमा आधुनिकीकरणको अभावमा पर्याप्त सम्भावनाका बाबजुत पनि नेपालले बृहत् मात्रामा कृषि उपजहरू निर्यात गर्न सकिरहेको छैन । हामीलाई यस क्षेत्रमा ठूलो वैदेशिक लगानीको आवश्यकता छ’, उनले भनिन् ।
मन्त्री डा राणाले अन्तर्राष्ट्रिय सहयोग एवं सहकार्यबाट कृषि क्षेत्रलाई नवप्रवर्तन, कृषिमा एआईको प्रयोग, खेती गर्न ड्रोन आदि प्रविधिको प्रयोग गरी कृषिमा आधुनिकीकरण र वैज्ञानिकीकरणका साथ आकर्षक बनाउन नेपाल सरकार लागिपरेको बताइन् । उनले नेपालमा कृषि पेशा गर्ने व्यक्ति अर्थात् किसानलाई अहिले पनि हेय दृष्टिले हेर्ने गरिएकाले यस क्षेत्रको आधुनिकीकरण गरी समयानुकूल विकास गरेर निर्यातमुखी बनाउन नसकिएको उल्लेख गरिन् । साथै, नेपालको ८३ प्रतिशत भू–भाग पहाड वा हिमाली क्षेत्र रहेको र जहाँ अधिकांश जमिन स–साना टुक्रामा अवस्थित रहेकाले पनि कृषि कार्य अत्यन्त कठिन रहेको उनको भनाइ थियो ।
नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो आयस्रोत बनेको विप्रेषणले नेपालको कुल गार्हस्थ उत्पादनमा करिब ३५ प्रतिशत योगदान रहेको र कृषिको योगदान दोस्रो स्थानमा अर्थात् करिब २३ प्रतिशन रहेको उनले बताइन् । मन्त्री डा राणाले कृषि क्षेत्र अझै पनि करिब ८० प्रतिशत जनसंख्याको रोजगारीको माध्यम बनेको चर्चा गरिन् । साथै, पछिल्लो समय जलवायुजन्य दुष्प्रभावका कारण कृषि क्षेत्रमा नराम्रो प्रभाव पर्दै गएको र नेपालका लागि यो गम्भीर चिन्ताको विषय भएको उनले उल्लेख गरिन् ।