काठमाडौं । एनसेलले आम उपभोक्ताहरूको सुविधाका लागि अब नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । साउनको दोस्रो साताभित्रै नयाँ सिमहरू वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्जको नम्बरहरू वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो । प्राधिकरणले एनसेललाई जारी नम्बर रेञ्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवाग्राहीहरूका लागि सेवा प्रदान गर्नका लागि मोबाइल नम्बरहरू अपुग भएकाले नयाँ नम्बर रेञ्ज प्रदान गरेको हो ।
यो नयाँ नम्बर रेञ्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना (नेसनल नम्बरिङ् अलोकेसन प्लान)को नियमअनुरूप जारी भएको हो । दूरसञ्चार सेवाहरूबाहेक विभिन्न महत्वपूर्ण कामहरूजस्तै वान टाइम पासवर्ड (ओटीपी) लिन, मोबाइल एप र वेबमा आधारित सेवाहरूका लागि साइन अप गर्नलगायत विभिन्न डिजिटल कारोबार गर्दा मोबाइल नम्बरको ठूलो आवश्यकता रहन्छ । एनसेलले विभिन्न सेवाप्रदायक कम्पनी, सरकारी तथा गैर–सरकारी संस्था, कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूलाई यो नयाँ नम्बर रेञ्जलाई हाल सञ्चालनमा रहेका अन्य रेञ्जसरह ग्राहक सेवाका लागि आ–आफ्नो प्रणालीमा इन्ट्रिगेट÷अपडेट गर्न अनुरोध गरेको छ ।