काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इन्टरनेसनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग आईआरजीडीडीबीच आर्थिक कूटनीति र लगानी प्रर्वद्धनका लागि सहकार्यको सम्झौता भएको छ ।
राजधानीमा मंगलबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र आईआरजीडीडीकी अध्यक्ष एवं पूर्वराजदूत डा शर्मिला पराजुली ढकालले सहकार्यको सम्झौतामा हस्ताक्षर गरेका हुन् । चेम्बर र आईआरजीडीडीबीच व्यापार तथा लगानी कूटनीति, नीतिगत अनुसन्धान र क्षमता अभिवृद्धि, नेपाली उत्पादनहरूको बजार प्रवद्र्धन र निजी क्षेत्रको संलग्नतालगायतका विषयमा सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुक तथा विदेशमा रहेका नेपालीहरूलाई समेत समावेश गरेर लगानीको सम्भावना, व्यापार अभिवृद्धि गर्ने विषयमा सहकार्य गरिने सम्झौतामा जनाइएको छ ।
व्यापार, युवा जनशक्ति परिचालन, आर्थिक कूटनीति र लगानी अभिवृद्धिजस्ता क्षेत्रमा चेम्बर र आईआरजीडीडीबीच संयुक्तरूपमा अध्ययन अनुसन्धान समेत गरिने सम्झौतामा उल्लेख छ । दुई संस्थाबीचमा भएको सम्झौताको कार्यान्वयनलाई प्रत्येक छ महिनामा पुनरावलोकन गरिने चेम्बरले जनाएको छ । विदेशस्थित कूटनीतिक नियोग, राजदूतावास एवं नेपालको निजी क्षेत्रबीच निरन्तर छलफल र सहकार्यमार्फत आर्थिक कूटनीतिलाई बलियो बनाउन आवश्यक रहेकाले आईआरजीडीडीसँग सहकार्यको सम्झौता गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।