काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवालाई उद्यमी बनाउन ‘स्टार्ट–अप’ कार्यक्रम लागू गरिने बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकमध्ये उद्योग मन्त्रालयका विषयमा सांसदहरूले उठाएका सवालको जवाफ दिँदै उनले यो कार्यक्रमले कामका लागि विदेशिने युवाको संख्यामा कमी आउने विश्वास व्यक्त गरे ।
मन्त्रालयले औद्योगिक पूर्वाधार निर्माण गर्न प्राथमिकता दिइएको, औद्योगिक क्षेत्रको प्रवर्द्धन, मन्त्रालयको सेवा अनलाइन प्रणालीबाट अघि बढाइने, कम्पनी रजिस्ट्रार कार्यालयको सेवा गत वर्षको फागुनदेखि नै अनलाइनबाट दिन थालिएको पनि मन्त्री भण्डारीले जानकारी दिए । यसका साथै खानी तथा भू–गर्भ विभागबाट खानी तथा उत्खनन अन्वेषण गरिने, प्रक्रिया पुर्याएर निजी क्षेत्रलाई खानी उत्खननमा लगाउन, धौवादी फलाम खानीका लागि पहुँच सडक निर्माणकार्य गरी अघि बढाउन, स्टार्ट–अप कर्जा कार्यक्रम विस्तार गर्न र औद्योगिक विकासग्राम सम्बन्धित स्थानीय तहले नै निर्माण गर्ने गरी कार्यक्रम ल्याइएको उनले बताए । सरकारले छुट्टै उद्योग स्थापना गर्ने योजना रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले कृषि औजार उत्पादनका लागि कारखाना स्थापना गर्ने कामलाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।