बैंकक । थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको छ । अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो ।
मुलुकको राजनीति वर्षौँदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र सिनावात्रा परिवारबीचको संघर्षले हावी भएको छ । सिनावात्रा परिवारलाई रूढीवादी, सैन्य समर्थक र शाही समर्थक अभिजात वर्गले थाइल्यान्डको परम्परागत सामाजिक व्यवस्थाका लागि खतरा मान्छन् ।
३८ वर्षीया पेटोङटार्नलाई उनका बुबा एवं पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नुपरेको दिन नै झट्का लागेको छ ।
पेटोङटार्नले एक वर्षभन्दा कम समयअघि सत्ता सम्हालेकी थिइन्, तर संवैधानिक अदालतले सीमा विवादका क्रममा उनले मन्त्रिपरिषद्को नैतिकता उल्लंघन गरिन् कि भनेर विचार गरिरहेकाले उनलाई निलम्बन गरिएको छ ।
कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो । लिक भएको रेकर्डिङअनुसार जब पेटोङटार्नले कम्बोडियाका पूर्वनेता हुन सेनलाई तनावबारे छलफल गर्न फोन गरे, उनले हुन सेनलाई ‘काका’ भन्नुभयो र एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गरे । उक्त फोनवार्ताले व्यापक आक्रोश निम्त्यायो । रूढीवादी सांसदहरूले उनलाई कम्बोडियासामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाए र मन्त्रीहरूमा ‘स्पष्ट इमानदारी’ र ‘नैतिक मापदण्डहरू’ आवश्यक पर्ने संवैधानिक प्रावधानहरू उल्लंघन गरेको आरोप लगाए ।
‘संवैधानिक अदालतले ७–२ को बहुमतले प्रतिवादीलाई जुलाई १ देखि संवैधानिक अदालतले आफ्नो निर्णय नगरेसम्म प्रधानमन्त्रीको दायित्वबाट निलम्बन गर्छ’, एक विज्ञप्तिमा भनिएको छ ।
पेटोङटार्नको फेउ थाई पार्टी पहिले नै यो काण्डमा परेका कारण एक प्रमुख रूढीवादी गठबन्धन साझेदारले त्यागेको छ र हजारौँले सप्ताहन्तमा बैंककमा उनको नेतृत्वविरुद्धमा विरोध प्रदर्शन गरेका छन् ।