काठमाडौं ।नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधिएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले असार १७ गतेको मितिमा तीन दिनभित्र जवाफ दिन भन्दै स्पष्टीकरण माग गरेको हो।
झाँक्रीले असार १५ गते बुटवलमा आयोजित पार्टी निकट युवा संघको कार्यक्रममा अध्यक्ष नेपालको नाम नलिए पनि कटाक्ष गर्दै भनिन्, "कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।"
अध्यक्ष नेपाल पतञ्जली आयुर्वेदको नाममा काभ्रेमा रहेको हदबन्दी छुटको सरकारी जग्गा खरिद बिक्री प्रकरणमा अख्तियारको मुद्दामा तानिएका छन्। विशेष अदालतले उनलाई ३५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने उनको सांसद पद पनि निलम्बनमा परेको छ।
उक्त जग्गा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो। झाँक्रीको सार्वजनिक टिप्पणीपछि पार्टीभित्र आन्तरिक असन्तोष सतहमा आएको देखिएको छ।