काठमाडौं। पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको छ। महान्यायाधिवक्ता कार्यालयले पुनरावेदनको निर्णय गर्दै एक साताभित्र निवेदन दर्ता गर्ने तयारी गरको बुझिएको छ ।
२०६४ सालमा रौतहटमा भएको बम विस्फोटपछि घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोपमा आलमलाई जिल्ला अदालतले जन्मकैद सुनाएको थियो। तर, उच्च अदालतले त्यो फैसला उल्टाउँदै आलमसहित सबैलाई सफाइ दिएको हो।
उक्त फैसलापछि फैसला सुनाउने न्यायाधीश खुशीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ। मृतक त्रिलोकप्रताप सिंह ‘पिन्टु’का बुवाले अन्यायपूर्ण फैसलाविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएका हुन्। हाल दुवै न्यायाधीश छानबिनको घेरामा छन् र काजमा सर्वोच्च अदालतमा तानिएका छन्।