काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार पक्राउ पर्नेमा सत्तारुढ दल नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र छन् । उनलाई बुधबार नेपालगञ्जबाट पक्राउ गरिएको प्रवक्ता खड्काले जानकारी दिए ।
पक्राउ परेका मिश्र विसं २०६६ सालदेखि २०७५ सालसम्म बैंक सञ्चालक समितिका अध्यक्ष थिए । मिश्रसँगै कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परिसकेका छन् ।
पक्राउ परेकाहरू सबैलाई बाँके राखेर अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरूविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबी प्रवक्ता खड्काले जानकारी दिए । विसं २०६० सालदेखि सञ्चालनमा आएको बैंकमा हालसम्म दुई अर्ब ५० करोड रुपैयाँ घोटाला भएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।