काठमाडौं । गैरकानुनीरूपमा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको भन्दै सीआईबीले छ जना चिनियाँ नागरिक सहित ५२ जनालाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार यही असार १७ गते मंगलबार ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं.–४ दमकल चोक र काठमाडौं जिल्ला कामनपा वडा नं.–१३ चागलमा अभौतिक मुद्रासम्बन्धी कसुरमा संलग्न देखिएका आधारमा ती व्यक्तिहरू पक्राउ परेका हुन् ।
५२ जना व्यक्तिहरू पक्राउ परेकोमा कारोबारमा संलग्न मुख्य छ जना निम्न चिनियाँ नागरिकहरूउपर अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरी बाँकी ४६ जना उपर थप अनुसन्धान भइरहेको प्रवक्ता खड्काले जानकारी दिए । पक्राउ पर्ने छ जना चिनियाँ नागरिकहरूमा २९ वर्षीय झाङ लुन, २७ वर्षीय चेन जिहाओ, ४१ वर्षीय लेन दिन, २३ वर्षीय छु जेङ, ३० वर्षीय लिउ जेसुवान र ३३ वर्षीय छु लिन्गुवा छन् ।
पक्राउ परेकाहरूले ललितपुरको दमकल चोकमा सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी कल सेन्टर तथा मिटु डेटिङ एप सञ्चालन गरी नेपाली युवाहरूलाई विभिन्न प्रलोभनमा पारी रकम ठग्दै आएका थिए । पक्राउ परेकाहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार नौ सय ५० रुपैयाँ बरामद भएको सीआईबी प्रवक्ता खड्काले जानकारी दिए ।