काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वातावरणमैत्री गाउँ निर्माणसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुढानीलकण्ठ नगरपालिका स्थित डाँडागाउँ बस्तीलाई वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्ने उद्देश्यले गत शनिबार सरोकारवालाहरूसँग अन्तर्क्रिया गरिएको हो ।
कार्बन उत्सर्जन न्यूनीकरण, फोहोर व्यवस्थापन र वृक्षारोपण गरी स्वच्छ वातावरण निर्माण गर्ने, उद्यमशीलता विकास गरी आयआर्जन वृद्धि तथा बेरोजगारी अन्त्य गर्न त्यहाँका जनता र सरोकारवालाहरूको समन्वयमा वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्न आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रमको अध्यक्षता बालविकास समाज आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता तामाङले गरेकी थिइन् ।
प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी र विशिष्ट अतिथि नगर उपप्रमुख अनिता रहेको कार्यक्रममा केन्द्रीय कार्यालय उद्यमशीलता, ग्राहक संरक्षण तथा अनुसन्धान विभागका प्रबन्धक सुमन श्रेष्ठले वातावरण मैत्री स्वावलम्बन गाउँ निर्माणको अवधारणासम्बन्धी प्रस्तुतीकरण गरेका थिए । प्रमुख अतिथि तथा नगरप्रमुख अधिकारीले वातावरण संरक्षण, उद्यमशीलता विकास र रोजगारी सिर्जनाजस्ता महत्वपूर्ण कुराहरू समेटेर वातावरणमैत्री गाउँ निर्माण गर्न अगुवाई गरेकोमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिनुहुँदै समाजको र समुदायको हित हुने यस प्रकारका पवित्र कार्यमा नगरपालिका आवश्यक सहयोग र समन्वय गर्न तत्पर रहेको बताए ।
नगर उपप्रमुख अनिता लामाले वातावरणमैत्री गाउँ निर्माण गर्ने कार्य अतिजरुरी रहेको विशेष गरी बुढानिलकण्ठको डाँडागाउँ एक सुन्दर र रमणीय गाउँ भएको कारण पर्यटनको अथाह सम्भावना भएको तर फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेकाले फोहोर व्यवस्थापन गरी वातावरण संरक्षण गर्ने कार्यलाई प्राथमिकतामा राख्नु सुझाव दिइन् । प्रधानाध्यापक धोर्जे तामाङले डाडाँगाउको आजको मूल आवश्यकता यहाँको सुन्दरता र वातावरणको संरक्षण नै गनुपर्ने भएकाले विद्यालय, स्थानीय युवाहरूको परिचालन तथा समन्वय गरी लक्ष्य हासिल गर्न मिलेर काम गर्ने बताए । कार्यक्रममा वित्तीय साक्षरता समेत प्रदान गरिएको थियो र वित्तीय साक्षरता कक्षाको सहजीकरण इलाका कार्यालय ठिमीका प्रबन्धक चेतनाथ बगालेले गरेका थिए ।
कार्यक्रममा स्थानीय व्यापारी, आमा समूहका प्रतिनिधि, विद्यार्थीहरू, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका सदस्यहरू तथा शाखा कार्यालय चुच्चेपाटीका कर्मचारीहरू र स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।