काठमाडौँ । केटीएम हस्पिटालिटी लिमिटेडको सेयर बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । केटीएम ग्रुप होल्डिङ्सअन्तर्गत सञ्चालित ४५ करोड चुक्ता पुँजी रहेको केटीएम हस्पिटालिटी लिमिटेडले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी निष्कासन गर्ने १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्नका लागि आरबीबी मर्चेन्ट बिक्री प्रबन्धकमा नियुक्त भएको हो ।
सर्वसाधारणमा जारी गर्नका लागि प्राथमिक सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालय, काठमाडौंमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालको समुपस्थितिमा हस्ताक्षरित सो सम्झौता–पत्रमा केटीएम हस्पिटालिटी लिमिटेडको तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाह र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
केटीएम हस्पिटालिटी लिमिटेडले फ्रान्सको प्रतिष्ठित अन्तर्राष्ट्रिय लुभ्र होटल्स समूहअन्तर्गतको एक लक्जरी पाँच तारे रिसोर्ट द रोयल ट्युलिप चितवनमा सुरुवात गर्ने तयारीमा रहेको छ । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो ।