काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंक साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच एससीटी युपीआई कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।
यही असार १२ गते साङ्ग्रिला डेभलपमेन्ट बैंकको कार्यलयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र साङ्ग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सम्झौता पत्र आदानप्रदान गरेका हुन् । यस सम्झौतापश्चात् साङ्ग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि एससीटी युपीआई कार्ड लिन सक्ने छन् ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र एक सयभन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी युपीआई कार्ड जारी गर्दै आइरहेको छ । एससीटीले आफ्नै कार्ड स्विचिङ संरचना स्मार्ट स्विचमार्फत एससीटी युपीआई कार्ड र भिसा कार्ड जारी गर्ने तथा युनियन पे, भिसा, रु पे, मास्टर कार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्डमार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।
विगत दुई दशकदेखि नेपालभरी सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससीटीले नेपालकै पहिलो डोमेसटिक कार्ड स्किम हो । एससीटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्टक्युआर, स्मार्ट पे, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङलगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।