काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रलाई सहज हुनेगरी सूचना प्रविधिको प्रयोग बढाउन र सहीरूपमा तथ्याङ्क व्यवस्थापन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । प्राधिकरणद्वारा बुधबार ललितपुरमा बीमकहरूसँग आयोजित बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग तथा तथ्याङ्क व्यवस्थापनसम्बन्धी छलफल एवं अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले लागत बढे पनि बीमा उद्योगको विकासका लागि सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भएको बताए हुन् ।
अध्यक्ष ओझाले भने, “बीमासम्बन्धी कस्ताकस्ता तथ्याङ्क आवश्यक छन्, कस्ता छैनन्, कस्ता दीर्घकालसम्म आवश्यक पर्छन् भन्ने स्क्रिनिङ गर्नुपर्छ, सोहीअनुसार तथ्याङ्क भण्डारण गर्नुपर्छ, दीर्घकालसम्म आवश्यक पर्ने तथ्याङ्क भण्डारण गर्ने क्षमता विकास गर्नुपर्छ, यसका लागि प्राधिकरणले पनि आवश्यक व्यवस्था गर्छ, बीमकहरूले पनि उपयुक्त व्यवस्था गर्नु आवश्यक छ ।”
कानुनबमोजिम समयमै वित्तीय विवरण र तथ्याङ्कहरू प्राधिकरणमा बुझाउन बीमकहरूलाई निर्देशन दिँदै अध्यक्ष ओझाले भने, “समयमै प्राप्त हुने सही तथ्याङ्कबाट निर्णय प्रक्रियामा समेत सहयोग पुग्छ, बीमा व्यवसाय अभिवृद्धि हुनेगरी तथ्याङ्क सदुयोग गर्नुपर्छ, सूचना प्रविधि र तथ्याङ्क व्यवस्थापनसम्बन्धी बीमा कम्पनीका गुनासालाई सम्बोधन गर्न प्राधिकरण सधैँ तत्पर छ ।” अध्यक्ष ओझाले बीमा कम्पनीले सार्वजनिक गर्ने, प्राधिकरणमा पेश गर्ने र अन्तिम प्रकाशन हुने तथ्याङ्क फरक–फरक नहुने गरी यथार्थपरकरूपमा सही तथ्याङ्क तयार एवं परिमार्जन गरी तथ्याङ्कलाई अन्तिमरूप दिन समेत निर्देशन दिए ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग तथा तथ्याङ्क व्यवस्थापनमा प्राधिकरण र बीमकबीचको समन्वयलाई अझै प्रभावकारी बनाउँदै यससम्बन्धी कार्यलाई थप परिस्कृत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारीले बीमा कम्पनीहरूले सूचना प्रविधिको प्रयोग तथा तथ्याङ्क व्यवस्थापनलाई बढी विश्वसनीय एवं जवाफदेही बनाउनुपर्ने र कम्पनीमा यससम्बन्धी सम्पर्क व्यक्ति तोक्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक रवीन्द्र श्रेष्ठले बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग र तथ्याङ्कशास्त्री वसन्त प्रसाद बोहराले बीमकको तथ्याङ्क व्यवस्थापनसम्बन्धी छुट्टाछुट्टै प्रस्तुति गरेका थिए । कार्यक्रममा बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका सूचना प्रविधि तथा तथ्याङ्क व्यवस्थापन शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्माले गरेका थिए ।