काठमाडौं, सरकारको बजेटमार्फत सुनचाँदी र गहनामा लगाइएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको विरोधमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः आन्दोलनमा उत्रिएका छन्। "विलासिता कर खारेज गर", "स्पष्ट नीति बनाउ" भन्ने नारासहित व्यवसायीहरू प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले सुनको भन्सार शुल्क ६ प्रतिशत कायम गर्न, रत्न तथा गहनाको कारोबारलाई पारदर्शी बनाउने स्पष्ट नीति निर्माण गर्न माग गरेका छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुनको कारोबार पारदर्शी बनाउन कर आवश्यक रहेको बताए पनि व्यवसायीहरू असन्तुष्ट छन्। उनीहरूको भनाइमा, जुनसुकै मूल्यको सुन वा गहनामा विलासिता कर लाग्दा कारोबार प्रभावित भएको छ। यसअघि स्थगित गरिएको आन्दोलन माग सम्बोधन नहुँदा व्यवसायीहरूले पुनः सडकको बाटो रोजेका हुन्।