काठमाडौं ।उच्च अदालत पाटनले नेपाल मेडिकल एसोसिएसनका महासचिव डा.सञ्जीव तिवारीलाई अदालतको अवहेलना सम्बन्धी विवादमा सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ। न्यायाधीश श्यामकुमार भट्टराई र हेमन्त रावलको इजलासले उपभोक्ता अदालतको फैसलाविरुद्ध डाक्टरहरूलाई कालो पट्टी बाँधेर विरोध गर्न आह्वान गरेको विषयमा स्पष्टीकरण माग गरेको हो।
उपभोक्ता अदालतले उपचारमा लापरवाहीका केही मुद्दामा अस्पताल र चिकित्सकलाई दोषी ठहर गरेपछि तिवारीले विरोधस्वरूप सार्वजनिक विज्ञप्ति जारी गरेका थिए। अदालतको काममा अवरोध पुर्याउने उद्देश्यले श्रृंखलाबद्ध विरोध गरिएको आरोपसहित अधिवक्ता जय पौडेल र सुविन पाण्डेले उच्च अदालतमा निवेदन दिएका थिए। अदालतको निर्णयको अवहेलना भएको भन्दै अन्य कानुन व्यवसायी र उपभोक्ता हित संरक्षण मञ्चले समेत कारबाहीको माग गरेका छन्।