काठमाडौं । एकता शिशु निकेतनकी छात्रा शालीन पोखरेलको आत्महत्या प्रकरणमा संलग्न ठहरिएका प्राचार्यसहित तीन शिक्षकलाई जिल्ला अदालत चितवनले सफाइ दिएको छ। २०८० फागुन १२ गते छात्रावासमा आत्महत्या गरेकी १५ वर्षीया बालिका पोखरेलको मृत्युपछि आत्महत्या दुरुत्साहनको अभियोगमा विद्यालयका प्राचार्य बालहरी देवकोटा, शिक्षक किरणबहादुर अधिकारी र किरणप्रसाद शर्मामाथि मुद्दा दायर गरिएको थियो।
तर, न्यायाधीश ध्रुवकुमार ढकालको एकल इजलासले आत्महत्या दुरुत्साहन पुष्टि हुने स्वतन्त्र प्रमाण नभएको ठहर गर्दै उनीहरूलाई सफाइ दिएको हो। अदालतले मृतकका बाबु दीपेन्द्र पोखरेल र वकिलले बलात्कारपछि हत्या गरिएको आरोप पनि शंकाको भरमा लगाएको उल्लेख गरेको छ। फैसला २०८१ चैत ४ गते भए पनि पूर्ण पाठ केही दिनअघि मात्रै सार्वजनिक भएको हो।