काठमाडौँ ,काठमाडौँको चोभार गल्छीमा रहेका ऐतिहासिक चट्टान नफोडिने सहरी विकास मन्त्रालयले स्पष्ट पारेको छ। असार १९ गते जारी विज्ञप्तिमा मन्त्रालयले गल्छीको प्राकृतिक स्वरूप जोगाउँदै केवल डुबान न्यूनीकरणका लागि फोहोर व्यवस्थापन गरिने उल्लेख गरेको छ। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले चोभार उपत्यकाको प्रमुख जलनिकास बिन्दु भएकाले अविरल वर्षामा डुबान समस्या समाधानका लागि आवश्यक अध्ययन र कार्ययोजना अघि बढाइने बताए। “चट्टान फोडिने भन्ने भ्रम निराधार हो,” प्रवक्ता मैनालीले स्पष्ट पार्दै, “धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको गल्छीको स्वरूप जोगाउँदै मात्रै काम अघि बढाइनेछ।” विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको ३२औँ बैठकपछि चोभार गल्छीलाई लिएर सामाजिक सञ्जालमा उठेका भ्रम चिर्न मन्त्रालयले स्पष्टिकरण दिएको हो।