स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा सिकेको ज्ञान, अनुभव र पुँजीलाई स्वदेश फर्किएर विकास र समृद्धितर्फ प्रयोग गर्न स्पेनमा रहेका प्रवासी नेपालीहरूलाई आग्रह गरेका छन् । स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी र प्रतिनिधिसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।
स्पेनको सेभियामा संयुक्त राष्ट्र संघको विकासका लागि वित्त सम्मेलनसँग सम्बन्धित कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओलीले प्रवासी नेपालीहरूसँग भेटघाट गरेका हुन् ।
स्पेनका लागि नेपाली राजदूतको निवासमा भएको भेटमा एमाले निकट मञ्चका पदाधिकारीहरूले प्रधानमन्त्री ओलीलाई स्पेनमा स्वागत र सम्मानसहित प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालमा भइरहेको विकास र समृद्धिको यात्राको सफलताको कामना गरेका हुन् ।
प्रधानमन्त्री ओलीले मुलुकमा स्थिरता र विकासका लागि दुई ठूला दलको सहकार्यमा वर्तमान सरकार बनेको स्पष्ट गर्दै आफूहरूबीच भएको समझदारीबमोजिम समय आउनु केही साताअघि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
विषम परिस्थितिमा पनि आफूहरूले मुलुकलाई राजनीतिक निकास र स्थायित्व दिँदै आएको विगतलाई स्मरण गर्दै आगामी दिनमा पनि सहज निकास दिइने प्रधानमन्त्री ओलीले बताए । अहिलेको गठबन्धन र आफ्नो पार्टीभित्र बाहिर चर्चामा आएजस्तो कुनै समस्या र विवाद नभएको पनि उनले स्पष्ट पारेका छन् ।