काठमाडौं । उच्च अदालत पाटनको फैसलाको विरुद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई विरोध कार्यक्रम गर्न आह्वान गर्ने नेपाल मेडिकल एसोसिएसनका महासचिव डा. सञ्जीव तिवारीलाई अदालतको अवहेलनासम्बन्धी विवादमा सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।
न्यायाधीशहरू श्यामकुमार भट्टराई र हेमन्त रावलको इजलासले अवहेलनाजन्य क्रियाकलाप गरेकोमा उजुरी परेको भन्दै अवहेलना नगरेको भए जवाफसहित उपस्थित हुनु भनेको हो ।
उपभोक्ता अदालतले गरेको फैसलामाथि टिप्पणी गर्ने र विरोधमा कालोपट्टी बाँधेको समाचार आर्थिक दैनिकले बुधबार प्रकाशित गरेको थियो । उपभोक्ता अदालतले अस्पताल र चिकित्सकसम्बन्धी केही मुद्दामा क्षतिपूर्तिको फैसला गरेपछि मेडिकल एसोसिएसनका महासचिव तिवारीले विज्ञप्ति जारी गरेर विरोधमा कालोपट्टी बाँध्न डाक्टरहरूलाई आह्वान गरेका थिए । उनले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमा अदालत प्रवेश गरेको भन्दै विरोध गरेका थिए ।
अदालतको फैसलालाई चुनौती दिँदै नेपाल मेडिकल एसोसियसनले विज्ञप्ति जारी गरेर विरोधका कार्यक्रमको विषयमा आर्थिक दैनिकमा प्रकाशन भएको समाचारको आधारमा रहेर अधिवक्ता जय पौडेल र सुविन पाण्डेले मेडिकल एसोसिएसनका महासचिव डा. तिवारीलाई विपक्षी बनाएर उच्च अदालतमा अवहेलना निवेदन दिएका थिए ।
सो निवेदमा उच्च अदालतले सुनुवाइ गर्दै नेपाल मेडिकल एसोसिएसनका महासचिव डा. तिवारीलाई सात दिनभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेश गर्न भनेको हो । मातहतको अदालतको अवहेलना भएको विषयमा कारबाही हुनुपर्ने भनी उपभोक्ता हित संरक्षण मञ्च र कानुन व्यवसायीहरूले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।