काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ‘नाडा अटो सो २०२५’को लागि स्टल बाँडफाँट गरेको छ । नाडाले आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भुकृटीमण्डपमा १७ औँ संस्करणको ‘नाडा अटो सो गर्न लागेको छ । उक्त सोमा सहभागी हुने विभिन्न कम्पनीको लागि नाडाले बिहीबार एक कार्यक्रमको आयोजना गरी ७५ वटा स्टल बाँडफाँट गरेको हो । नाडाका अनुसार १८ वटा चारपाङ्ग्रे, चार वटा दुईपाङ्ग्रे र १३ वटा लाइट कमर्सियल सवारी ब्रान्डको स्टल रहने छ । त्यस्तै, अटो सोमा लुब्रिकेन्ट, टायर, स्पेयर पार्टसलगायतको लागि ४० वटा स्टल रहने छन् । अटो सोमा चारपाङ्ग्रे ब्रान्डहरू दीपल, अवतार, डोङफेङ, नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, एवोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, बीएडब्लू, जेवाइ एयर, एलएस अटो, ब्लभल, जिनपेङलगायत ब्रान्डले प्रदर्शनी गर्ने छन् । यस्तै, दुईपाङ्ग्रे सवारी ब्रान्डमा हिरो, रोयल इनफिल्ड, जोनसन र यामाहा सहभागी हुनेछन् ।
त्यस्तै, लाइट कमर्सियल भेहिकलमा न्यू गोन्वो, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवासिरकिङलङ, मोन्त्रा, स्काइवर्थ, कावेइरनाभेको, सनलङ ब्रान्डको सहभागी हुने नाडाले जनाएको छ । अटो सोमा मुख्य आकर्षणको रूपमा मेड इन नेपाल पभिलियन, विन्टेज कार पभिलियन, अटो डायलग, इटेरी, क्याफेलगायत रहनेछन् । नाडाले विसं २०५५ सालमा नाडा अटो सो सुरु गरेको थियो । हालसम्म आइपुग्दा यो सो नेपाली अटो उद्योगको प्रमुख प्रदर्शनी बनेको र यसले प्रविधि, नवप्रवद्र्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको नाडाले जनाएको छ ।