काठमाडौं । नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो सञ्चालनमा ल्याएको छ । निगमले ७५ करोड लागतमा स्वदेशी प्रविधि प्रयोग गरी हवाई इन्धन डिपो सञ्चालनमा ल्याएको हो ।
निगमका अनुसार उक्त डिपोमा तीन वटा भण्डारण गृह, फायर फाइटिङ संरचना र अतिप्रज्वलनशील पदार्थको सुरक्षा व्यवस्थासहित आधुनिक प्रविधि प्रयोग गरिएको छ । विमानस्थलको उडान चापलाई मध्यनजर गर्दै डिपोले ३६ सय किलोलिटर हवाई इन्धन भण्डारण गर्न सक्षम रहेको जानकारी पनि निगमले दिएको छ । ५५ वर्षको इतिहासमा नेपालमा नै पहिलोपटक शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आधुनिक सुविधासम्पन्न हवाई इन्धन डिपो निर्माण पूरा भएको निगमको भनाइ छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा आधुनिक र सुविधा सम्पन्न विमानस्थल निर्माण र सञ्चालनमा ल्याएसँगै यहाँ इन्धन डिपो स्थापना प्रक्रिया अगाडि बढेको थियो । यो विमानस्थलबाट उडान र अवतरण गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जहाजलाई आवश्यक हवाई इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमा नौ हजार दुई सय १५ वर्गमिटर क्षेत्रफलको जग्गा नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी संरचना उपयोग गर्दै आएको निगमको भनाइ छ । सोही जग्गामा अहिले अत्याधुनिक प्रविधि जडित हवाई इन्धन डिपो निर्माण सम्पन्न भएको निगमले जनाएको छ ।
२०७७ चैत २ गते यहाँ हवाई इन्धन डिपो निर्माणका लागि सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आह्वान भएको थियो । डेढ वर्षपछि २०७९ कात्तिक २९ मा बोलपत्र पेस गर्नेमध्ये सार्वजनिक खरिद ऐन प्रावधानअनुसार तोकिएको योग्यता र न्यूनतम रकम कबोल गर्ने निर्माण व्यवसायीसँग निर्माण कार्य अघि बढाउन सम्झौता भएको थियो । लगत्तै, २०७९ पुस १५ मा नागरिक उड्डयन प्राधिकरणसँग जग्गा भाडामा लिने विषयमा सम्झौता भएको थियो । यस्तै, २०८० साउन १ मा निर्माण कार्य शिलान्यास भएको थियो । शिलान्यास लगत्तै निर्माण कार्यलाई निरन्तररूपमा तीव्रता दिई हाल सम्पन्न गरिएको निगमले जनाएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान चाप मध्यनजर गर्दै यहाँ एक हजार दुई सय किलोलिटर क्षमताको तीन वटा ठूला भण्डारण गृह (कुल तीन हजार छ सय किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्याङ्क) निर्माण गरिएको छ । भर्टिकल स्टोरेज ट्याङ्कको उचाइ १२ मिटर र व्यास पनि १२ मिटर छ । यसैगरी डिपो सुरक्षामा उच्च सतर्कता अपनाउन एक हजार दुई सय किलोलिटर क्षमताको अलग्गै पानी ट्याङ्की निर्माण सम्पन्न भएको छ ।