काठमाडौं । डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा हुँदै नभएको विद्यालयको नाममा साढे सात लाख रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले काल्पनिक विद्यालय खडा गरी सात लाख ६० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्षविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको मुद्दामा उनीहरू प्रत्येकसँग सात लाख ६० हजार रुपैयाँ बिगो र कैद माग गरिएको छ ।
अख्तियारले प्रमुख इन्जिनियरसहित चार जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कैद र बिगो असुल उपर गर्न मागदाबी गरेको हो । हाल डोल्पा ठूलोभेरी नगरपालिका वडा नम्बर ४ (साविक दुनै गाविस वडा नम्बर २ र ३) तिप्लास्थित काल्पनिक विद्यालय दुर्गा प्राथमिक विद्यालय खडा गरी कार्यालय प्रमखु इन्जियिनर पजियार, लेखापाल कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह र संगीताले आपसी मिलेमतो तथा योजनामा विद्यालयको नाममा दुई कोठे भवन निर्माणका लागि उक्त रकम विनियोजन गरेका थिए । उक्त रकम प्रमुख इन्जिनियर पजियारको सिफारिसमा उपभोक्ता समितिको नाममा खाता खोली जस्ताको छानासहितको दुई कोठे भवन निर्माण गरेको भनी झुटा तथा नक्कली कागजात तयार गरी चेकमार्फत् सात लाख ६० हजार रुपैयाँ भुक्तानी दिने तथा लिने काम भएको थियो ।
आर्थिक वर्ष २०६७/६८ मा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट विद्यालय भवन निर्माणको लागि कुनै पनि रकम नआएको र भवन पनि नबनेको जिल्ला शिक्षा कार्यालय, डोल्पाले पत्रमार्फत् अख्तियारलाई जानकारी दिएको थियो । अख्तियारका अनुसार डोल्पा दुनै गाविस २ र ३ तिप्लाका कुनै पनि वडा र बस्तीमा नरहेको विद्यालय दुर्गा प्राथमिक विद्यालय तिप्लाको नाममा योजना परोको तर विद्यालय भवन नबनाई अनियमितता गरेको उजुरी परेसँगै अख्तियारले अनुसन्धान गर्दा उक्त स्थानमा विद्यालय नै नभएको पाइएको थियो ।
अख्तियारले अनुसन्धानको क्रममा दुनै गाविस वडा नम्बर २ र ३ तिप्लामा दुर्गा प्राथमिक विद्यालयको नामबाट हालसम्म कुनै पनि विद्यालय सञ्चालनमा नरहेको र डोल्पा ठूलोभेरी नगरपालिका वडा नम्बर ४ (साविक दुनै गाविस वडा नम्बर २ र ३) मा एउटै मात्र श्रीलालीगुराँस आधारभूत विद्यालय रहेको पाएको थियो ।