काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको एक बराबर एकको अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका दरले ५३ लाख ५८ हजार एक सय ५० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले हकप्रद सेयर निष्काशनका प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गरेको थियो । तसर्थ, जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति साउन १९ गते तोकिएको छ । हकप्रद निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकको वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरान शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका तोकिएको शाखा कार्यालयका साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । कम्पनीको हाल चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।