काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’को एकाइ सार्वजनिक निष्काशनमा ल्याउने भएको छ ।
यो योजना प्रारम्भमा एक अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै एक अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने ‘ग्रीनसुओ अप्सन’सहितको व्यवस्था गरिएको छ । योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलितरूपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राखेको छ ।
यस योजना पूर्णरूपमा म्युचुअल फन्ड नियमावली २०६७ अनुसार सञ्चालनमा ल्याइएको छ, जसले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा उचित कोष व्यवस्थापन सुनिश्चित गर्दछ । क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२ दशमलव ४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यसअनुसार यस योजनाका एकाइधनीहरूले १० वर्षमा कुल दुई सय २४ दशमलव ९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् ।
यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६ दशमलव ८८ प्रतिशत रहने प्रक्षेपण रहेको छ । क्यापिटलले यस योजनाका एकाइधनीहरूलाई पहिलो नौ वर्षसम्म आठदेखि २० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने प्रक्षेपण गरेको छ ।
ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत हाल दुई योजना सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले सात वर्षमा एक सय चार प्रतिशत लाभांश वितरण गरेको छ भने १० दशमलव १६ प्रतिशत फन्ड पुनर्खरिद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ । यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन् २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्सप्राप्त बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१ दशमलव ५० प्रतिशत स्वामित्व रहेको छ । यस योजनाको एकाइमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।
यस योजनाको निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रवर्द्धकलाई इक्राएनपी इस्यूअर रेटिङ ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङले आईआरएन एएमसी क्वालिटी ३ प्लस रेटिङ प्रदान गरेको छ ।