काठमाडौं । बिबिसी मास्टर सेफ सन्तोष साहले राजधानीको नक्सालमा ‘जनकपुर फिस हाउस’ संचालनमा ल्याएका छन् । नक्सालको मिथिला थाली प्राङ्गणमा सुरु गरिएको ‘जनकपुर फिस हाउस’मा माछाका परिकारमा जनकपुरको स्वाद दुरुस्तै पस्कने सेफ साह बताउँछन् ।
जनकपुरमा जस्तै मोटो तावामा, सर्सिउँको तेलमा तारेको माछालाई धेरैले मन पराउनेमा सेफ साह विश्वस्त छन् । सेफ सन्तोषको यो काममा उनका दाजु सेफ दिलीपले साथ दिएका छन् । सन्तोषलाई हस्पिटालिटी क्षेत्रमा भित्र्याउने दिलीपसँग नेपाल, भारत र मध्य अमेरिकाका हस्पिटालिटी क्षेत्रमा काम गरेको साढे तीन दशक लामो अनुभव छ । सेफ दिलीपका भन्छन्, ‘जसरी काठमाडौँमा किलोमा सेकुवा खाने प्रचलन छ, त्यसरी नै माछाको मात्र प्रचलन गर्ने उद्देश्यले यो रेस्टुराँ खोलिएको हो, जनकपुरमा जसरी माछा खाने परम्परा छ, त्यो स्वाद र अनुभव यहाँ ल्याउने हाम्रो प्रयास हो । पछिल्लो समय स्वास्थ संयम भएर ’व्ह्वाइट मिट’ खाने परम्परालाई पनि यसले सघाउनेछ ।’
उनका अनुसार फिस हाउसमा करिब दश प्रकारका माछाका परिकार पाइन्छ । स्पेशल तावा फिस अर्डर गर्दा सानो जनकपुरी मुरी (साँदेको खट्टे) र मुलाको अचारसँगै चाख्न पाइनेछ । ट्राउट, झिँगे माछा, फिस चिली, फिस सेट जस्ता परिकारहरू पनि उपलब्ध छन् । सबै परिकारहरू जनकपुरको पारम्परिक स्वाद र शैलीमा तयार पारिन्छन् । जनकपुर फिस हाउसमा पेय पदार्थ पनि सुलभ मूल्यमै उपलब्ध गराइएको छ ।
पछिल्लो समय सेफ साहले अमेरिकादेखि यूरोप, न्युजिल्यान्ड, अष्ट्रेलिया, जापानसम्म उनले नेपालका विभिन्न समुदाय र जातिका मौलिक परिकार आफ्ना नेपाली रैथाने स्वादका रेसिपीको पप–अप शो आयोजना गर्दै आएका छन्, जसमा साहले करिब डेढ दर्जन परिकार पस्कन्छन । स्वदेशमा भने साह मिथिला थालीको प्रचारप्रसारमा काम गरिरहेका छन् ।