काठमाडौं । एभरेस्ट इन्जिनियरिङ कलेज र विदेशी प्रत्यक्ष लगानी (एफडीआई) अन्तर्गत अस्ट्रेलियाका नागरिकहरूको प्रत्यक्ष लगानी र स्वामित्वमा नेपालमा सञ्चालित एआई कम्पनी इन्टुजी प्रालिबीच आपसी सहयोगको सम्झौता भएको छ ।
इन्टुजी र एभरेस्ट इन्जिनियरिङ कलेजबीच लामो समयदेखि आपसी सहयोगका विभिन्न कार्यक्रमहरू हुँदै आएकोमा ती कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन तथा वैधानिकता दिन औपचारिक सम्झौता भएको हो । सम्झौताअन्तर्गत इन्टुजी प्रालिका कार्यक्रमहरू सञ्चालन गर्न कलेजले भौतिक सुविधाहरू उपलब्ध गराउने र कलेजका विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान तथा इन्टर्नसिपको अवसर उक्त प्रालिले दिने भएको छ । यस सम्झौताबाट एभरेस्ट इन्जिनियरिङ कलेजका कम्प्युटर, सफ्टवेयर र आईटीका विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुनेछन् ।
एभरेस्ट इन्जिनियरिङ कलेज र इन्टुजी प्रालिबीचको सम्झौताले कलेजको स्नातक तहमा विद्यार्थीको थप आकर्षण हुने कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठको विश्वास छ । इन्टुजीका प्रमुख सूचना अधिकारी रितेश शाहले उच्च इन्जिनियरिङ शिक्षा क्षेत्रमा देशकै सर्वोत्कृष्ट कलेजहरूमध्येमा परेको एभरेस्ट इन्जिनियरिङ कलेजसँग सहकार्यको सम्झौता आफ्नो कम्पनीको लागि गौरवको विषय भएको बताए ।