काठमाडौं । झापा दमक–३ मा ठडिएको १८ तले भ्युटावरको जग्गालाई लिएर नयाँ विवाद चुलिएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रभित्र पर्ने यस टावरका लागि माँ पञ्चकन्या हाउजिङले ०७३ मा चार बिघा १८ कट्ठा जग्गा दान दिएको थियो।
तर दुई वर्षपछि, ०७५ जेठ ३१ मा दुई बिघा ‘सापटी दिएको’ भन्दै तत्कालीन जनप्रतिनिधिसँग सम्झौता गरिएको कागज देखाउँदै कम्पनीले अब त्यो जग्गा वा चलनचल्तीको मूल्य फिर्ता मागेको छ।
हाल सो क्षेत्रको मूल्य प्रतिकट्ठा ५० लाख नाघेको छ। हाउजिङले २५ कट्ठा फिर्ता नपाएको भन्दै अदालत जाने चेतावनी दिएको छ। तर नगरपालिकाका वर्तमान मेयरले यस्ता कागजात नभेटिएको बताए।
यसैबीच, माँ पञ्चकन्याले प्लटिङ कारोबार गर्दै भ्युटावरअगाडि नै आफ्नो कार्यालय सञ्चालन गरिरहेको छ, जहाँ उनीहरूले सस्तोमा किनेको जग्गा अहिले करोडौँमा बिक्री भइरहेको छ।
स्थानीयले आरोप लगाउँदै भने,"कृषि फार्म खोल्ने भनेर ढाँटेर जग्गा किनियो, अहिले करोडौँमा प्लटिङ गर्दैछन्।"