काठमाडौँ । नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् ।
नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई थप लगानी गर्न अनुरोध गरेका हुन् ।
सूचना प्रविधि, व्यापार, जलविद्युत्, पूर्वाधार, वातावरण, पर्यटनलगायत क्षेत्रमा प्रतिनिधिमण्डलमा सहभागीले लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए । प्रतिनिधिमण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा चाइ कि खान, गणेशकुमार वनगाह, एमके सङ्ग्राहलगायत सहभागी थिए ।