काठमाडौं । मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच साझेदारी गर्ने सम्झौता भएको छ । दुई संस्थाबीच विद्यार्थीलाई व्यावहारिक ज्ञान, प्रत्यक्ष अनुभव तथा अनुसन्धानमा सहयोग पु¥याउने उद्देश्यले समझदारी भएको हो ।
समझदारी पत्रमा संघका अध्यक्ष अनुपम राठी र त्रिभुवन विश्वविद्यालयका तर्फबाट प्रा.डा. केदारप्रसाद रिजालले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सशक्तीकरणको लागि इन्टर्नसिप, अनुभवजन्य शिक्षा, औद्योगिक भ्रमण, संरक्षकता तथा मार्गदर्शनजस्ता व्यावहारिक स्रोतहरू उपलब्ध गराइने भएको छ । यी सबै सेवा मोरङ उद्योग वाणिज्य संघको पहुँचमा रहेका निजी क्षेत्रका उद्योग–व्यावसायिक संस्थाहरूमार्फत गरिने सम्झौतामा उल्लेख छ । समझदारीअनुसार संघलाई त्रिविले विषयगत विद्यार्थी वा स्रोत व्यक्तिहरू प्रदान गर्नेछ । यसले अनुसन्धान, छलफल, अन्तर्क्रिया तथा प्रतिवेदन तयारीजस्ता कामहरूमा सहयोग पुर्याउने जनाइएको छ । यसैगरी, दुई पक्षबीच उपलब्ध वा बाह्य स्रोतबाट संकलन गरिएका संकाय सदस्य, विशेषज्ञ वा सम्बन्धित क्षेत्रका विज्ञहरूको अनुभव आदान प्रदान गर्न जनशक्ति उपलब्ध गराइने समझदारी पनि भएको छ ।
साथै, त्रिविमा उपलब्ध संकाय सदस्य, विशेषज्ञ तथा विज्ञहरूले सामाजिक, शैक्षिक, औद्योगिक, वैज्ञानिक तथा अन्य सान्दर्भिक विषयमा अनुसन्धान तथा ‘केस स्टडी’ गर्नेछन् । यसैगरी, त्रिविले उद्योग, व्यापार, बजार र वातावरणसँग सम्बन्धित समस्याहरूको अनुसन्धान, अध्ययन, पहिचान र प्रसारण गर्नका लागि विषयमा आधारित विद्यार्थीहरू तथा स्रोत व्यक्तिहरू उपलब्ध गराउने छ भने कार्यक्रम सञ्चालन गर्न संघले समन्वय र सहकार्य गर्नेछ । उक्त समझदारी पत्रको अवधि पाँच वर्षको हुने संघका अध्यक्ष राठीले जानकारी दिए ।