सर्लाही, सर्लाहीका एसपी योगेन्द्र खड्कालाई अश्लील गालीगलौज गरेको अडिओ सार्वजनिक भएपछि सम्पर्कविहीन बनेका जसपा मधेशका सर्लाही अध्यक्ष अशोक यादवले भिडियो सन्देशमार्फत् कडा प्रतिक्रिया दिएका छन्।
यादवले प्रहरीका कारण छोराको गर्धनको नसा फाटेको दाबी गर्दै आफूले कुनै अपराध नगरेको बताएका छन्। "म निमुखा, शोषित, पीडित जनताको आवाज उठाउँछु," उनले भने, "यदि यही अपराध हो भने म सयवटा मुद्दा झेल्न तयार छु।"
प्रहरीले यादवमाथि यसअघि दर्ता भएका सात मुद्दाको विवरण सार्वजनिक गर्दै पक्राउ पुर्जी जारी गरिसकेको छ। यादवले आफूलाई मिडियाले 'फरार' भन्नु गलत भएको भन्दै आपत्ति जनाएका छन्। "म कहिल्यै डरिएको छैन, मधेश र मधेशीका लागि ज्यान दिन पनि पछि हट्दिन," उनले भिडियोमा भनेका छन्।