काठमाडौं । विश्व बैंकले पाकिस्तान र अफगानिस्तानलाई दक्षिण एसियाको सूचीबाट हटाएको छ । बैंकले देश र ऋण समूहहरूको सूची सार्वजनिक गर्ने क्रममा पाकिस्तान र अफगानिस्तानलाई दक्षिण एसियाको सूचीबाट हटाएर ‘मध्यपूर्व, उत्तर अफ्रिका, पाकिस्तान र अफगानिस्तान’ ऋण समूहमा राखेको हो । यसअघि दक्षिण एसियाको ऋण समूहमा नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, पाकिस्तान र अफगानिस्तान गरी कुल ८ वटा देशहरू समेटिएको थियो । अब पाकिस्तान र अफगानिस्तान इरान, इराक, इजरायल, कतार साउदीअरेबियासहित २३ वटा देश सम्मिलित समूहमा रहनेछ ।
विश्व बैंकले ऋण समूह परिवर्तन गर्नुको कारण बताएको छैन । कारण स्पष्ट नपारे पनि भारतको दबाबका कारण यस्तो सूची परिवर्तन भएको हुन सक्ने आकलन गरिएको छ । दक्षिण एसियाको शक्तिशाली राष्ट्रको रुपमा रहेको भारतले केही महिनाअघि भएको युद्धपछि पाकिस्तानमाथि दिइँदै आएको ऋण सहयोग रोक्न विश्व बैंकलाई दबाब दिँदै आएको थियो । यही परिप्रेक्षमा ऋण समूह परिवर्तन भएपछि भारतीय दबाबको शंका गरिएको हो ।
विश्व बैंकले आफ्नो कार्यसञ्चालन, ऋण प्रवाह तथा तथ्याङ््कको विश्लेषणलगायत कामका लागि विश्वका देशहरूलाई विभिन्न समूहमा राख्ने गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंकलगायतले पनि देशहरूको यस्तै समूह बनाएर सहायता उपलब्ध गराउँदै आएका छन् । यस्ता समूहरुलाई उनीहरुले विशेषगरी आफ्नो संस्थागत कामको प्रयोजनका लागि मात्रै प्रयोग गर्छन् ।