हुम्ला, प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली कोरिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रूपमा अघि बढाइने बताएका छन् । प्रधानमन्त्री ओलीले कर्णाली कोरिडोर कर्णाली र हुम्लावासीको मात्र नभई दुई छिमेकी देशसँगको व्यापारिक मार्ग भएकाले यसलाई तत्काल दुई लेनको बनाइनुका साथै कालोपत्र गर्दै जाने बताए ।
खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा आइतबार एक समारोहबीच बेलिब्रिजको उद्घाटन गर्दै कर्णाली कोरिडोरअन्तर्गत पर्ने चुवाखोलामा छिट्टै पक्की पुल निर्माण गरिने पनि उनले बताए । यस्तै, हुम्ला सदरमुकाम सिमकोट औपचारिकरूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएकोमा खुसी व्यक्त गरे । हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग तथा त्रिदेशीय सीमासँग जोड्न बेलिब्रिज निर्माण गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यहाँ निर्माणाधीन पक्की पुललाई निरन्तरता दिएर हुम्लालाई मात्र नभएर देशलाई समृद्धिको बाटोतर्फ डो¥याउने प्रतिबद्धता व्यक्त गरे । अप्ठ्यारो ठाउँमा ढलान गरेर भए पनि सडक स्तरोन्नति गर्दै लैजाने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले छिमेकी मुलुक चीनसँग जोडिएको हिल्सा नाकामा क्वारेन्टाइन निर्माण गरिने प्रतिबद्धता जनाए । उनले सो क्षेत्र व्यापार व्यवसायको ठूलो सम्भावना भएको उल्लेख गर्दै छिमेकी मुलुकसँग व्यापार व्यवसाय गर्न पनि क्वारेन्टाइन तत्काल स्थापना गर्न आवश्यक भएको बताए । हुम्लालाई सडक सञ्जालसँग जोड्न नेपाली सेनाले गत वर्ष चैत १० गतेदेखि चुवाखोलामा बेलिब्रिज जडान गर्न सुरु गरेको थियो । उक्त बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरमा आइतबार काठमाडौंबाट सुर्खेत हुँदै खार्पुनाथ पुगेका थिए ।
हुम्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडियो
कर्णाली कोरिडोर निर्माण आरम्भ भएको २६ वर्षपछि हुम्ला सदरमुकाम सिमकोट औपचारिकरूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको कर्णाली कोरिडोरअन्तर्गत खार्पुनाथ–५ चुवाखोलामा यही असार १० गते नै बेलिब्रिज निर्माण सम्पन्न गरिएको नेपाली सेनाले जनाएको छ । यसले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालसँग जोड्ने छ ।