काठमाडौं । नेपाल सरकारका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडाले कृषि क्षेत्रको विकास र रूपान्तरणका लागि विशिष्टीकृत वित्तीय संस्था आवश्यक रहेको बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को २४औँ स्थापना दिवसका अवसरमा बोल्दै उनले कृषि क्षेत्रको विकास र विस्तारका लागि विशेष कार्य गर्नेगरी विशिष्टीकृत वित्तीय संस्थाको आवश्यकता देखिएको बताएका हुन् ।
उनले साना किसानहरूलाई कृषि, पशुपालन र आयआर्जनका कार्यमा संलग्न गराउन साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.ले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै लघुवित्तहरू सदस्यहरूलाई उत्पादनमा जोड्ने गरी आफ्ना कार्यक्रम अगाडि बढाउन नसके लामो समयसम्म चल्न नसक्ने तर्क गरे । ऋण दिने मात्र नभई सदस्यहरूलाई लगानी गरेको ऋणले आम्दानी दिनेगरी सदस्यहरूलाई तयार गर्न सक्नुपर्ने भन्दै यस कार्यमा साना किसानले नमूनाका रूपमा कार्य गरेको प्रति खुसी व्यक्त गरे ।
उनले सरकारले दिएको सहयोगलाई सदुपयोग गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो कामलाई प्रमाणित गरेकै कारण अहिले विदेशी निकायहरूले समेत विश्वास गर्ने वातावरणको विकास भएको बताए । नेपालमा कृषि र पशुपालनमार्फत गर्न सकिने उद्यम र आयआर्जनका क्षेत्रहरू धेरै रहेको स्मरण गर्दै डा. खतिवडाले एकलभन्दा पनि अब सामूहिक उत्पादन र आम्दानीमा जोडिनुपर्नेमा जोड दिए ।
डा. खतिवडाले साना किसानले अहिले कृषि सहकारीमार्फत सदस्यहरूलाई उत्पादन र बजारीकरणमा जोड्दै गएको प्रति अब उत्पादनको भण्डारण, प्रोसेसिङ, प्याकेजिङ र ब्रन्डिङ गरेर आयस्तर बढाउने कार्यलाई अझै प्रभावकारी बनाउन सुझाव दिए । पछिल्लो समय सहकारी तथा साना बचत समूह सहकारीका सिद्धान्तअनुरूप सञ्चालन नहुँदा बचतकर्ताहरूको रकम हिनामिना हुने क्रम बढेको भन्दै यो समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले संस्थागत सुशासन बढाउन नसक्दा सहकारीमा केही समस्या आएको बताए । उनले देशव्यापी अभियान चलाइरहेको भन्दै यस क्रममा संस्थाका सञ्चालक र कर्मचारीहरूले आफ्नो जिम्मेवारीभन्दा फरक काम गरेका कारण संस्थाहरूमा समस्या सुरु भएको तर्क गरे । सहकारीले समुदायको हरेक क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने भन्दै उनले सुधार आफैँबाट गर्नुपर्ने बताए ।
वार्षिकोत्सव समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले नेतृत्व इमान्दार भएका सहकारी तथा लघुवित्त संस्थामा कार्य गर्नसके कुनै समस्यासँंग जुध्न नपर्ने तर्क गरे । उनले तरलताको समस्या नभएको र आफ्ना सदस्यलाई मुनाफा वितरण गर्न सफल भएका उदाहरणबारे चर्चा गर्दै समस्याको समयमा पनि साना किसान कृषि सहकारी संस्थाहरूले हेर्न, सुन्न र सुनाउन लायक कार्य गरेको दाबी गरे ।