काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषि र साना तथा मझौला उद्यमजस्ता प्राथमिकताप्राप्त क्षेत्रमा खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या देखिएको बताएका छन् । ठूला उद्यमी तथा व्यवसायीलाई हेरेर मात्र मौद्रिक व्यवस्था ल्याइँदा यो समस्या समाधान नहुने उनको भनाइ छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार राजधानीमा आयोजना गरेको पूर्व–मौद्रिक नीति छलफल कार्यक्रममा गभर्नर पौडेलले कृषि र साना तथा मझौला उद्योगको समस्यालाई केन्द्रमा राखेर अरु सबै क्षेत्रलाई सँगसँगै लैजाने गरी आगामी आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति ल्याउने बताए । ‘हामीले बढी कर्जा प्रवाह होस् भन्ने चाहना राखेका कृषि र साना तथा मझौला उद्यम क्षेत्रको खराब कर्जा बढेको छ, यो समस्यालाई कसरी समाधान गर्ने भन्नेमा हामी बढी केन्द्रित हुनुपर्नेछ’, गभर्नर पौडेलले भने, ‘अस्थिरताका बेला सबै क्षेत्र प्रभावित हुन्छन्, त्यस कारण सबैलाई सकेसम्म माथि लिएर जाने हो, धनीहरूको एउटा समूह र कृषक तथा साना उद्यमीको अर्को समूह सिर्जना गर्न हुँदैन भन्नेमा हामी चनाखो हुनुपर्नेछ, ऋणमा सबैको हक लाग्नुपर्छ, सबैको पहुँच हुनुपर्छ ।’
त्यस्तै मुलुकको समग्र अर्थतन्त्र र वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्ने विषय राष्ट्र बैंकको हातमा मात्र नरहेको उनको भनाइ छ । अहिलेको समस्या समाधानका लागि वित्त नीतिले नेतृत्व गरेर ऊर्जा, सडक, पुलजस्ता ठूला पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न अतिआवश्यक भइसकेको उनले बताए । वित्त नीति र मौद्रिक नीतिबीच समन्वय चाहिन्छ भन्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्दै उनले पौडेलले पछिल्लो समय मौद्रिक नीति बैंक तथा वित्तीय संस्थाका वासलातमा भन्दा पनि सूक्ष्म सूचक व्यवस्थापनमा केन्द्रित हुनुपर्ने अवस्था रहेको बताए ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले ब्याजदर कम हुँदा पनि कर्जा बढ्न नसक्नुको प्रमुख कारण बचतयोग्य आम्दानी घट्नु रहेको बताए । ‘हाम्रो खर्च बढेको छ, तर आम्दानी बढ्न सकेको छैन, युवा पलायनले उपभोक्ता बजारमा उपभोग घटेको छ’, उनले भने । त्यस्तै ऋण असुलीसम्बन्धी कानुनका व्यवस्था कडा रहेकोले यसलाई केही खुकुलो बनाउनुपर्नेमा उनले जोड दिए । खराब कर्जा बढ्नु बैंकको मात्र समस्या नभई सामाजिक समस्याका रूपमा देखिएको उनको भनाइ थियो । ‘खराब कर्जाको सामाजिक पाटो पनि हेरेर यससम्बन्धी कानुनी व्यवस्थालाई खुकुलो बनाइनुपर्छ, सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी समयमा गर्न नसक्नु र सहकारी क्षेत्रमा देखिएको समस्याले पनि खराब कर्जाको आकार बढेको देखिन्छ’, उनले भने ।
कार्यक्रममा अर्थशास्त्री डा. मेनुका कार्कीले वित्त नीतिमा समन्वय हुनेगरी मौद्रिक नीतिका व्यवस्था आउन नसकेको र अर्थतन्त्र सुधारका लागि मौद्रिक नीतिमा बढी निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको बताइन् । ‘विस्तारकारी मौद्रिक नीति आउँदा वित्त नीति पनि विस्तारकारी रूपमा आउन सक्नुपर्ने हो, तर वित्त नीति संकुचनकारी नै देखिन्छ’, कार्कीले भनिन् । निजी क्षेत्रको कर्जा विस्तारलाई वित्त नीतिबाट नभई मौद्रिक नीतिमार्फत हेरिनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, घरजग्गा धितोमा आधारित कर्जा विस्तार गर्नेभन्दा व्यवसायमा आधारित धितोमा कर्जा प्रवाहलाई बढावा दिनुपर्ने उनले बताइन् । जग्गाको कित्ताकाट रोकिँदा घरजग्गा क्षेत्रमा समस्या देखिएको र यसले पनि कर्जा विस्तार बढ्न नसकेको कार्कीको भनाइ छ ।
पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकारले सधैँ विस्तारकारी वित्त नीति ल्याएको भनेर दाबी गर्नेगरेको बताए । यद्यपि नीतिगत स्थिरता हुन नसक्दा निजी क्षेत्र बढी समस्यामा पर्नेगरेको उनको भनाइ छ । वित्त नीतिले लगानीको वातावरण सिर्जना गर्ने र सरकार आफँै पनि खर्च गर्ने सबैभन्दा ठूलो निकाय पनि भएकाले सरकारको खर्च बढ्यो भने बजार चलायमान हुने र राजस्व पनि बढ्ने उनको भनाइ छ । आगामी आवको बजेट खुकुलो आएको उल्लेख गर्दै उनले मौद्रिक नीति त्यसलाई समर्थन गर्नेगरी आउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अर्थशास्त्री डा. समीर खतिवडाले केन्द्रीय बैंकको मुख्य काम मूल्यवृद्धि नियन्त्रण रहेकाले कतिपय अवस्थामा वित्त नीतिसँग विरोधाभास देखिने गरेको बताए । केन्द्रीय बैंकका काममा स्वायत्तता देखिनुपर्नेमा उनले जोड दिए । त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर, मुद्रास्फीति र विदेशी विनिमय व्यवस्थापन तथा वित्त नीतिले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बढाउनतर्फ बढी केन्द्रित हुनुपर्ने उनको सुझाव छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले आगामी आवको मौद्रिक नीतिमार्फत निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताए ।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले अधिकार सम्पन्न र शक्तिशाली निकायका रूपमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न अपरिहार्य रहेको बताए । ‘अहिले बैंक आफैँ सम्पत्ति व्यवस्थापन गर्ने कम्पनीका रूपमा काम गरिरहेका छन्, बैंकले मात्रै समस्या समाधान गर्न नसकेको अवस्थामा हामीलाई शक्तिशाली निकायका रूपमा सम्पत्ति व्यवस्थापन कम्पनी चाहिएको हो’, उनले भने । सीबीफिनका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले बैंकिङ क्षेत्रमा समस्या हुनेबित्तिकै मुलुकको समग्र अर्थतन्त्रमा नै समस्या हुने भएकाले बैंक, निजी क्षेत्र, राष्ट्र बैंक र सरकारले संयुक्त प्रयासबाट अहिलेको समस्या समाधान गरिनुपर्ने बताए ।