काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीहरूलाई सुरक्षा प्रदान गर्न सरकार असफल भएको जनाएको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गरी निर्माण उद्योगमा संलग्न व्यवसायीहरूको सुरक्षाका विषयमा सरोकारवाला निकाय गम्भीर नभएको उल्लेख गरेको छ ।
महासंघले मकवानपुर जिल्लाको सहरी विकास तथा भवन कार्यालय र दोलखा काली भूमे कन्स्ट्रक्सन एन्ड सप्लार्यस प्रा.लि.बीच ठेक्का सम्झौता भई कार्य भइरहँदा महिला निर्माण व्यवसायी मञ्जु लामामाथि वडाध्यक्षबाट भएको अभद्र व्यवहारप्रति कडा आपत्ति जनाएको छ । महासंघका महासचिव रोशन दाहालका अनुसार हेटौँडा उपमहानगरपालिका वडा नं का ४ का अध्यक्ष नवीन सिग्देलले लामामाथि यही असार १९ गते अभद्र व्यवहार गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा थुनाउने कार्य गरेका थिए । सो घटनाको भत्र्सना गर्दै महासंघले त्यसप्रति खेद व्यक्त गरेको छ ।
‘सम्बन्धित कार्यालयसँग समन्वय गरी सत्यतथ्य पत्ता लगाई आपसी संवादमार्फत् निष्पक्ष छानबिन गरी समस्या समाधान गर्नुपर्नेमा वडाध्यक्षजस्तो जिम्मेवार व्यक्तिबाट निर्माण कार्य तीव्ररूपमा गर्नुपर्ने अहिलेकै सिजनमा महिला निर्माण व्यवसायी उपर भएको यस किसिमको हर्कतबाट जनप्रतिनिधिमा सत्ता उन्माद भई कानुनी शासनको उपहास गरिएको महासंघको ठहर छ’ महासचिव दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निर्माण व्यवसायी लामालाई तत्काल रिहा गरी घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न तथा देशभरका निर्माण व्यवसायीहरू, उनीहरूमा आश्रित कामदारसहित निर्माण उपकरणहरूको समेत सुरक्षाको पूर्ण व्यवस्था मिलाउन महासंघले माग गरेको छ । व्यवसायीमाथिको यस किसिमको घटना बन्द नभए महासंघ बाध्य भएर देशभरका निर्माण कार्य ठप्प पारी सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्तिमा जनाइएको छ ।