काठमाडौं , नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर र कार्यक्षम सरकार निर्माणका लागि पाँचबुँदे प्रस्ताव पेस गरेका छन्। सोमबार सम्पन्न केन्द्रीय समिति बैठकमा उनले यो प्रस्ताव प्रस्तुत गरेका हुन्।
शर्माले प्रधानमन्त्रीले पूरा कार्यकाल टिक्न नसकेको समस्यालाई समाधान गर्न सशक्त उपायहरू अघि सारेका छन्।
उनका प्रस्तावअनुसार:
१. निर्वाचन परिणामको आधारमा सरकार: प्रत्यक्ष सिट र लोकप्रिय मतको आधारमा पहिलो पार्टीले सरकारको नेतृत्व गर्ने, अन्य सबै दलहरू पाँच वर्ष विपक्षमै रहने।
२. ‘विनर्स टेक अल’ सिद्धान्त: पहिलो दलले बहुमत नपुगे सिट अपुग भए पनि, विज्ञहरूको नाममा पूर्व-प्रस्तावित सूचीबाट आवश्यक सिट प्राप्त गर्ने।
३. सिधा प्रधानमन्त्री चयन: पहिलो दलका संसदीय दलका नेता प्रधानमन्त्री बन्ने, र उनीसँग मन्त्रिपरिषद्मा विज्ञहरू राख्ने अधिकार हुने।
४. दुई चरणमा विश्वासको मत: शपथपश्चात् १० दिनभित्र र दुई वर्षपछि आर्थिक तथा सामाजिक सूचकहरूको आधारमा पुनः विश्वासको मत लिनुपर्ने।
५. प्रधानमन्त्रीमा दुई कार्यकालको सीमा: कुनै पनि व्यक्ति दुईपटक मात्र प्रधानमन्त्री बन्न पाउने।
शर्माले यस्ता प्रावधानहरू लागू गर्न सकेमा स्थिरता, जवाफदेहिता र सुशासनको मार्ग खुल्ने दाबी गरेका छन्। उनका प्रस्तावहरू नेपाली राजनीतिमा नयाँ अभ्यासको सुरुवात हुनसक्ने आकलन गरिएको छ।