जनकपुर , बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह किर्ते र जालसाजीको अभियोगमा पक्राउ परेका छन्। जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति लिएपछि फरार रहेका साहलाई धनुषा प्रहरीले सोमबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार साहले परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको किर्ते हस्ताक्षर बनाएर चारजना कर्मचारीलाई अवैध रूपमा बर्खास्त गरेका थिए। हस्ताक्षरको वैज्ञानिक परीक्षण प्रतिवेदन आएपछि उनीमाथि पक्राउ प्रक्रिया अघि बढाइएको थियो।
पक्राउ परेका साहमाथि तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको धनुषाका एसपी नरहरी रेग्मीले जानकारी दिए। नेकपा एकीकृत समाजवादीको सिफारिसमा परिषद् अध्यक्ष बनेका साह मुद्दा सुरु भएपछि समाजवादी छाडेर नेकपा एमालेमा प्रवेश गरेका थिए। उनले किर्ते हस्ताक्षर गरी प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्रि गिरी, र नासुद्वय मदन चौधरी र संजय मण्डललाई बर्खास्त गरेका थिए।