काठमाडौं । एक दर्जन विदेशी एयरलाइन्स कम्पनीले नेपालबाट आफ्नो सेवा सञ्चालन गरे पनि सरकारलाई तिनुपर्ने कर छली गर्दै आएका छन् । नेपालबाट विभिन्न गन्तव्यमा उडान भर्दा नेपाल सरकारलाई बुझाउनुपर्ने दुई अर्ब ३१ करोड ५५ लाख २८ हजार रुपैयाँ कर छली गरेको पाइएको हो । एक दर्जन एयरलाइन्सले छलेको कर र व्याज असुलीका लागि छानबिन गरी उठाउन सम्बन्धित कर कार्यालयहरूलाई निर्देशन समेत दिइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कर छली गर्नेमा साउदी अरब, सिंगापुर, दुबई, कुवेत, भुटान, टर्की, ओमान, मलेसिया र श्रीलंका उडान गर्ने एयरलाइन्सहरू रहेका छन् । साउदी अरब उडान गर्ने एयरलाइन्स कम्पनीले १७ करोड ९७ लाख ८८ हजार, सिंगापुर उडान गर्ने एयरलाइन्स कम्पनीले १६ करोड ७६ लाख १५ हजार रुपैयाँ, दुबई उडान गर्ने एयरलाइन्स कम्पनीले ८८ करोड एक लाख ८० हजार रुपैयाँ, कुवेत उडान गर्ने एयरलाइन्स कम्पनीले २१ करोड नौ लाख २५ हजार रुपैयाँ कर छली गरेका छन् । यस्तै, भुटान उडान गर्ने एयरलान्स कम्पनीले चार करोड ९६ लाख २४ हजार रुपैयाँ, टर्की उडान गर्ने एयरलाइन्स कम्पनीले १५ करोड ६५ लाख ९४ हजार रुपैयाँ, ओमान उडान गर्ने एयरलाइन्स कम्पनीले एक करोड ७३ लाख ५९ हजार रुपैयाँ, मलेसिया उडान गर्ने एयरलाइन्स कम्पनीले १९ करोड २१ लाख ८८ हजार रुपैयाँ र श्रीलंका उडान गर्ने एयरलान्स कम्पनीले नौ करोड १८ लाख ४४ हजार रुपैयाँ कर छली गरेको भेटिएको हो ।
सरकारले उक्त कर छली गन्तव्यसम्मको मात्र गणना गरेको हो भने अन्तिम गन्तव्यसम्मको भाडा समेत यकिन गरी कर निर्धार गर्नुपर्ने हुन्छ । नेपालबाट विभिन्न गन्तव्यमा उडान भर्ने एयरलाइन्सहरूमा एयर अरेबिया, एयर इन्डिया, विमान बंगालदेश, हिमालयन एयरलाइन्स, क्याथ्ये प्यासेफिक, मलेसिया एयरलाइन्स, सिंगापुर एयरलाइन्स, चाइना साउदर्न, कुवेत एयरलाइन्स, थाइ एयरलाइन्स, फ्लाई दुबई, कतार एयरवेजले सेवा दिँदै आए पनि कर छली गर्ने एयरलाइन्स कम्पनीहरूले उडान गन्तव्य मात्र तोकिएको छ ।
एयरलाइन्स कम्पनीहरूले नेपाल सरकारलाई तिनुपर्ने कर यात्रुमार्फत् एयरलाइन्स कम्पनीहरूले उठाउने गरे पनि सरकारलाई कर नतिरी छली गर्दै आएको पाइएको हो । नेपालबाट विभिन्न गन्तव्यमा हवाई उडान भर्दै आएका विदेशी एयरलान्स कम्पनीहरूले हरेक वर्ष कर छली गर्दै आएका छन् भने सरोकारावाला निकायहरू मौन बसेका छन् ।
आयकर ऐन, २०५८ को दफा ७० मा नेपालबाट प्रस्थान हुने यात्रुको ओसारपसार गर्दा पाँच प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने हवाई यातायातमा दुई प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ । प्राधिकरणका अनुसार यसभन्दा अघि करिब तीन वटा विदेशी एयरलाइन्स कम्पनीले २५ करोड ६५ लाख ८१ हजार रुपैयाँ कर छली गरेका थिए । जसमा चीन उडान भर्ने, कुवेत उडान भर्ने एयरलाइन्स कम्पनीहरू थिए । आन्तरिक राजस्व कार्यालयले विदेशी एयरलाइन्स कम्पनीहरूलाई कडाइ गर्न नसक्दा कर छलीको समस्या आएको जानकारहरू बताउँछन् ।