चितवन । नेपाल ह्याचरी उद्योग सङ्घले कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ । सङ्घमा आबद्ध उद्योगीलाई यही असार २९ गतेसम्म ब्रोइलर र कलर ब्रोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाइएको हो ।
चल्ला उत्पादक किसानले लागतअनुसार मूल्य नपाएपछि सङ्घले एक साता उत्पादन तथा बिक्रीवितरण बन्द गरेको जनाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार उत्पादित चल्ला र मासुले मूल्य नपाएपछि एक साताका लागि उत्पादन बन्द गरिएको हो । उनले भने, ‘व्यवायीले चल्लाको उत्पादन मूल्यभन्दा कममा बेच्नुपर्ने र बिक्री नै नहुने अवस्थामा पुगेपछि अहिलेको अवस्था आएपछि हामीले चल्ला उत्पादन बन्द गरेका हौँ ।‘ अहिले नेपालमा ५३ ह्याचरी उद्योग सञ्चालनमा रहेका छन् । कोभिड अघिसम्म तीन सय ७० को हाराहारीमा उद्योग सञ्चालनमा रहेका थिए ।
नेपालमा अहिलेको बजार खपत सातामा २० लाख रुपैयाँदेखि २२ लाख मात्रै रहेको भएपनि उत्पादन भने सातामा ३० देखि ३५ लाख रुपैयाँको हुने गरेको छ । मागभन्दा उत्पादन बढी भएपछि समस्या आएको हो । चल्ला बिक्री नहुँदा सञ्चालनमा रहेका ह्याचरी उद्योग समेत धरासाही भएका छन् । उत्पादित चल्ला १० देखि १५ रुपैयाँमा बेच्नुपर्ने भएपछि उद्योग बन्द गरिएको हो । ब्रोइलर चल्लाको लागत मूल्य ६० रुपैयाँ पर्न आउँछ । हरेक आइतबार र बुधबार ब्रोइलर र कोइलरका चल्ला उत्पादन गरिँदै आएको छ ।