काठमाडौं । विवाहित महिलाहरूको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्डको चौथो संस्करणका लागि आवेदन खुला गरिएको छ ।
आयोजक संस्था रिबन इन्टरटेन्मेन्ट प्रालिले ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरी आवेदन खुला गरिएको जानकारी दिएको हो । प्रतियोगिताको अडिसन र ग्रान्ड फिनालेको मिति समेत सार्वजनिक गरिएको छ । आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले प्रतियोगिताको पहिलो चरणको अडिसन साउन १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुने र ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी दिए ।
यो पटकको मिसेस नेपाल वल्र्डमा हास्य कलाकार केदार घिमिरे र अभिनेत्री दिपिका प्रसाईं पनि जोडिएका छन् । उनीहरू गुडविल एम्बेस्डरका रूपमा सहभागी भएका हुन् । पत्रकार सम्मेलनमा कलाकार घिमिरेले चौथो स्टेजको क्यान्सरसँग जुधिरहेकी एमएस नेपाल २०२३ सीता सुवेदीको उपचारका लागि ५१ हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा समेत गरेका थिए ।
आयोजक निशुकान्त झाका अनुसार प्रतियोगितामा सहभागी हुन न्यूनतम एसएलसी उत्तीर्ण हुनुपर्नेछ । प्रतियोगितामा एकल महिलाले पनि सहभागिता जनाउन सक्नेछन् । आवेदन खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिनेछ । प्रतियोगिता अवधिभर विभिन्न क्षेत्रका विज्ञ प्रशिक्षकद्वारा व्यक्तित्व विकास, प्रस्तुति कला, आत्मविश्वास अभिवृद्धि, सञ्चार सीपलगायतका विषयमा विशेष प्रशिक्षण प्रदान गरिनेछ । मिसेस नेपाल वल्र्डसँगै मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेता पनि सोही मञ्चबाट घोषणा गरिनेछ । विजेता मिसेस नेपाल वल्र्डले आगामी वर्ष अमेरिकामा हुने मिसेस वल्र्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।