तियानन्जिन (चीन) । विकासोन्मुख देशहरूका लागि आर्थिक तथा व्यापार क्षेत्र निर्माण र व्यवस्थापनसम्बन्धी ‘सेमिनार’ आज यहाँ सम्पन्न भएको छ । तीन सातासम्म सञ्चालन भएको सो ‘सेमिनार’मा नेपाललगायत इन्डोनेसिया, इथियोपिया, जमैका, मोजाम्बिक, जाम्बिया, गुयाना र घानाका २४ जना सरकारी कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
चीनको ‘कमर्श’ मन्त्रालयको सहयोगमा ‘तान्जियन टिइडिए इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालि’को आयोजनामा तियानन्जिन सहरमा भएको सो ‘सेमिनार’मा अन्तरराष्ट्रिय व्यापार, स्वतन्त्र व्यापार सम्झौता, विश्व व्यापार सङ्गठनमा प्रवेशपछि चीनले हासिल गरेको आर्थिक समृद्धिलगायतका विषयमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।
राससका अनुसार सहभागीहरूलाई तियानन्जिन, बेइजिङ र सियान्जिन सहरको भ्रमण गराई त्यहाँ रहेका विभिन्न कम्पनीका बारेमा जानकारी गराइएको थियो ।
‘सेमिनार’ समापनका अवसरमा प्रमाणपत्र प्रदान गर्दै तियानन्जिन कमर्स कमिसनका निर्देशक लि लिपङले चीनले हासिल गरेको तीव्र आर्थिक विकासको अनुभवबाट समग्र विश्वसहित विशेषगरी विकासोन्मुख राष्ट्रहरू लाभान्वित हुनसक्नुपर्ने धारणा व्यक्त गरे ।
टेडाका महाप्रबन्धक सु योन्सेङले आर्थिक विकासका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको यस किसिमको कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
रासस फोटो पुस्तक हस्तान्तरण
सेमिनार समापनका अवसरमा तियानन्जिन कमर्स मिसनका निर्देशक ली लिपिङलाई राससका सञ्चालक सदस्य कृष्ण अधिकारीले समितिद्वारा प्रकाशित रासस फोटो किताब, २०२५ हस्तान्तरण गरे ।
सो अवसरमा सञ्चालक सदस्य अधिकारीले नेपालको संस्कृति बुझ्न र नेपालले पूर्वाधार विकासमा गरेको पहल थाहा पाउन तस्बिर पुस्तक उपयोगी हुने बताए ।
यसैगरी, निर्देशक लिपिङले नेपालको आर्थिक विकासमा चीनबाट निरन्तर सहयोग भइरहेको उल्लेख गर्दै आगामी दिनमा यस किसिमको सहयोग वृद्धि हुने बताए ।