काठमाडौँ, नेपाल प्रहरीले ललितपुरको सानेपाबाट गैरकानुनी रूपमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को टोलीले राजतिर्थ ट्रेडर्स नामक किराना पसलको आवरणमा डेढ अर्बभन्दा बढीको क्रिप्टो कारोबार र हुण्डी कारोबार गरिरहेको सूचनाका आधारमा भारत बिहारका ४३ वर्षीय रूपेशकुमार गुप्ता र २२ वर्षीय विपिनकुमारलाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट ८ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारु, एकथान सिसिटिभी डिभिआर र संरक्षित वन्यजन्तु कस्तुरीको बिना जस्तो वस्तु पनि बरामद गरिएको छ। प्रहरीले उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अभौतिक मुद्रा, हुण्डी र वन्यजन्तु सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्दै थप अनुसन्धान थालेको छ।